March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

राजसंस्था पुनर्स्थापना र हिन्दूराष्ट्रको माग गर्दै काठमाडौं, झापा र चितवनमा प्रदर्शन

काठमाडौं, राजसंस्था र हिन्दूराष्ट्र पुनर्स्थापना माग गर्दै शनिबार काठमाडौं, झापा र चितवनमा प्रदर्शन र सभा भएको छ । पछिल्लो समय सत्तारुढ नेकपाभित्र किचलो बढेसँगै पूर्वराजसंस्था पक्षधरले गत कात्तिकदेखि गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताविरुद्ध प्रदर्शन गर्दै आएका छन् ।

हेटौँडा, बुटवल, विराटनगर, नेपालगन्जलगायत सहरपछि कात्तिकयता सबैभन्दा ठूलो संख्यामा शनिबार काठमाडौं, झापा र चितवनमा प्रदर्शन भएको छ । प्रधानमन्त्री केपी ओलीको गृहजिल्ला झापा र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृहजिल्ला चितवनमा ठूला प्रदर्शन भएका छन् ।

झापा र चितवनमा प्रदर्शनको अगुवाइ राप्रपाले गरेको छ भने काठमाडौंमा राष्ट्रिय नागरिक आन्दोलन नामक संस्थाले नेतृत्व गरेको थियो । लोकतान्त्रिक गणतन्त्रको विरोध गर्दै राजसंस्था पुनर्स्थापनाका पक्षमा चर्को नाराबाजीसहित सडक प्रदर्शन भएको थियो । राजनीतिक दलहरूले २०६४ सालपछि मुलुकलाई समृद्धि, शान्ति, स्थायित्व दिन नसकेको र राष्ट्रियता कमजोर बनाएको दाबी प्रदर्शनकारीहरूले गरेका थिए ।

यस्ता प्रदर्शनमा पार्टीले कार्यकर्ता पठाउँदै ऐक्यबद्धता जनाउने गरेको राप्रपाका नेता मोहन श्रेष्ठले बताएका छन् । राप्रपा अध्यक्ष कमल थापाले विभिन्न समूहद्वारा जारी सडक प्रदर्शनमा ऐक्यबद्धता जनाउँदै राप्रपाले नै संघर्षको कार्यक्रम सञ्चालन गर्ने तयारी थालेको बताएका छन् ।

काठमाडौंमा पृथ्वीनारायण शाहको तस्बिर र राष्ट्रिय झन्डासहित माइतीघरमा प्रदर्शन भएको थियो । मोटरसाइकल र्‍यालीसहित सभामा अधिवक्ता सुरेन्द्र भण्डारीलगायतले सम्बोधन गरेका थिए ।

प्रमुख सहरहरूमा भएका प्रदर्शन एकीकृत योजनामा आयोजित होइनन् । त्यसका लागि केन्द्रीकृत शक्ति पनि निर्माण भएको छैन । ससाना समूहले वर्तमान शासन पद्धतिप्रति असन्तोष व्यक्त गर्दै राजसंस्था पुनर्स्थापनाको माग गर्दै आएका छन् । कुनै पनि दलीय गतिविधिमा संलग्न नभएकाहरूले राजसंस्था पुनस्र्थापनाका पक्षमा आवाज उठाइरहेका छन् ।

राप्रपाले शुक्रबार हेटौँडा र केही दिनअघि नेपालगन्जमा ठूलो संख्यामा प्रदर्शन गरेको थियो । हेटौँडामा राप्रपा नेताद्वय राजाराम बर्तौला र मधु अधिकारीले सम्बोधन गरेका थिए । राप्रपा नेता डा. धवलशमशेर राणाले नेपालगन्जको कार्यक्रमको अगुवाइ गरेका थिए । पूर्वराजसंस्थाका पक्षमा राप्रपाबाहेक पूर्वमन्त्री केशरबहादुर विष्ट नेतृत्वको राष्ट्रिय शक्ति नेपाल पनि सडकमा उत्रिएको छ । वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपाने नेतृत्वको ‘नेपालका लागि नेपाली’ भन्ने समूह पनि आन्दोलनमा छ ।

अनिल बस्नेत नेतृत्वको शिवसेना नेपाल राजतन्त्र पुनस्र्थापना र हिन्दूराष्ट्रका लागि आन्दोलनरत छ । बस्नेत पूर्वयुवराज पारससँग नजिक मानिन्छन् । सडक अभियानमा ‘गोरखाली समूह’ नामक समूह पनि छ ।

नागेन्द्र देउजा, वसन्तविक्रम पाण्डेलगायत व्यक्ति यसमा छन् । पूर्वराजा ज्ञानेन्द्रका नातेदारसमेत रहेका पूर्वसञ्चारराज्यमन्त्री श्रीशशमशेर राणाले उनीहरूलाई राजनीतिक संरक्षण दिएका छन् । यो अभियानमा नेविसंघका संस्थापक सभापति तथा कांग्रेस नेता विपिन कोइराला पनि संलग्न छन् । कांग्रेसका पूर्वनेता हरिबोल भट्टराई नेतृत्वको सनातन संस्कृति समाज पनि राजसंस्था पुनर्स्थापना अभियानमा संलग्न छन् ।नयाँ पत्रिकाबाट

शीर्ष समाचार

धेरै पढिएको