September 23, 2021, Thursday
२०७८ आश्विन ७, बिहीबार

त्रिवि दीक्षान्तमा माथिल्लो तहका विद्यार्थी मात्रै 

काठमाडौं, त्रिभुवन विश्वविद्यालयले पीएचडी, एम फिल र गोल्ड मेडल प्राप्त विद्यार्थी मात्रै सहभागी गराएर यसपटक दीक्षान्त समारोहको आयोजना गर्ने भएको छ । कोरोना भाइरसको सङ्क्रमण कायमै रहेका कारण माथिल्लो तहका विद्यार्थी र विभिन्न विषयमा गोल्ड मेडल प्राप्त विद्यार्थीको उपस्थितिमा मात्रै दीक्षान्त समारोह गर्ने निर्णयमा विश्वविद्यालय पुगेको छ ।

विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले दीक्षान्त समारोहमा यसपटक पीएचडी, एमफिल र गोल्ड मेडल प्राप्त विद्यार्थी गरी करिब दुई सय जनाको सहभागितामा दीक्षान्त समारोह गरिने जानकारी दिए। पुस ६ गते विश्वविद्यालयको ४६औँ दीक्षान्त समारोह आयोजना गरिँदैछ ।

दीक्षान्त समारोहमा यसपटक स्नातक तथा स्नातकोत्तर तहका विद्यार्थी सहभागी हुन पाउने छैनन् । पुस ६ गतेको औपचारिक कार्यक्रम सकेपछि पुस ७ गतेबाट स्नातक तथा स्नातकोत्तर तहका विद्यार्थीलाई शैक्षिक उपाधि वितरण गरिने कार्यक्रम छ । दीक्षान्त समारोहमा सहभागिताका लागि यसपटक सात हजार ८७ जना बढी विद्यार्थीले आवदेन दिन पनि कोरोना भाइरस सङ्क्रमणको अवस्थाका कारण सबैलाई सहभागी गराउन सकिने अवस्था नभएको जनाइएको छ ।

स्नातक तथा स्नातकोत्तर तहका विद्यार्थीलाई छ÷सातवटा काउन्टर बनाएर शैक्षिक उपाधि वितरण गरिने योजना छ । विद्यार्थी विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुने पोसाकमै सजिएर प्रमाणपत्र लिनेछन् तर औपचारिकता गरिने छैन । तीन चार दिनमा सबै तहका प्रमाणपत्र वितरण गरिसक्ने गरी व्यवस्था मिलाइएको जनाइएको आजको गोरखापत्र दैनिकमा खवर छ ।