
सरकारले ६७ उडानमार्फत पहिलो चरणमा २४ हजार नेपालीको उद्धार गर्ने भएको छ, नेपाल वायुसेवा निगम र हिमालयले ४३ उडान गर्नेछन् भने विदेशी एयरलायन्सले २४ उडान गर्नेछन्, उद्धार उडानको भाडादरसमेत तय गरिएको छ । सरकारले आगामी ३२ जेठ आइतबारदेखि ११ असारसम्म विदेशमा रहेका नेपालीको उद्धार गर्ने भएको छ । नेपाली र विदेशी एयरलायन्सले गरेर ६७ वटा उडानमार्फत पहिलो चरणमा २४ हजार नेपालीको उद्धार गर्ने निर्णय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गरेको छ ।
मन्त्रालयले नेपाल वायुसेवा निगम र हिमालय एयरलायन्सलाई ३२ जेठबाट हुने विस्तृत उद्धार तालिका बुधबार नै पठाएको छ । कुनकुन देशबाट कुन एयरलायन्सले कतिको उद्धार गर्ने भनेर तालिका दिइएको हो । मन्त्रालयले दुई एयरलायन्स कम्पनीका कुल दैनिक १० वटा उडानबाट नबढ्ने गरी तालिका बनाएको हो । १० उडानबाट दुुई एयरलायन्सले दैनिक एक हजार आठ सयजनाको उद्धार गर्नेछन् । मन्त्रालयले उडानको भाडासमेत तय गरेर मन्त्रिपरिषद् कार्यालय र परराष्ट्र मन्त्रालयमा पठाएको छ ।
नेपाल वायुसेवा निगम र हिमालय एयरलायन्सले विदेशबाट दैनिक १४ उडानमार्फत दुई हजार ६ सय ५६ यात्रुको नेपाल ल्याउन सक्ने प्रस्ताव गतसाता पठाएका थिए । एकैदिन ठूलो संख्यामा मानिस ल्याउँदा व्यवस्थापन गर्न कठिन हुने भएकाले तत्काल दैनिक १० उडानमार्फत मात्रै उद्धार गर्ने मन्त्रालयले जनाएको छ ।
कहाँ कहिले उडान
उद्धारको क्रममा नेपाली एयरलायन्सले ४३ उडान गर्नेछन् भने विदेशका एयरलायन्सले २४ उडान गर्नेछन् । ४३ मध्ये नेपाल वायुसेवा निगमले २४ र हिमायल एयरलायन्सले १९ वटा उडानबाट उद्धार गर्नेछन् । मन्त्रालय स्रोतले दिएको जानकारीअनुसार नेपाल वायुसेवा निगमको जहाज वाइडबडीले ३२ गते बंगलादेशमा पहिलो उडान गरी नेपाली ल्याउनेछ । असार १ गते मलेसिया, साउदी अरब, सिंगापुर, कम्बोडिया र ओमनबाट एक–एक उडान चार्टर गरेर ल्याइनेछ । त्यस्तै असार २ गते युएई, कतार, कुवेत र श्रीलंकाबाट एक–एक उडानमार्फत चार्टर गरेर नेपाल ल्याइनेछ । असार ३ गते अस्ट्रेलिया, बैंकक, बहराइन, बंगलादेश, कतार र अमेरिकाबाट एक–एक उडान गरेर नेपाली ल्याइनेछ । असार ४ गते साउदी अरब, युएई, मलेसिया र ओमनबाट एक–एक चार्टर उडान हुनेछ । त्यस्तै, असार ५ गते जापान, कुवेत, साउदी अरब र नाइजेरियाबाट दुई–दुई उडान हुनेछ । असार ६ गते साइप्रस, मलेसिया, कतार, युएई, बंगलादेश र युरोपबाट एक–एक चार्टर उडान गरेर नेपाली ल्याइनेछ । असार ७ गते दक्षिण कोरिया, ओमन, कुवेत, मलेसियाबाट दुई–दुई चार्टर उडान हुनेछ । असार ८ गते अस्ट्रेलिया, बैंकक, पाकिस्तान र कतारबाट एक–एक चार्टर उडान गरेर नेपाल ल्याइनेछ । असार ९ गते जापान, माल्दिभ्स, युएई र युगान्डाबाट दुई–दुई चार्टर उडान हुनेछ । असार १० गते साउदी, कुवेतबाट दुई–दुई उडान हुनेछ । त्यसैगरी असार ११ गते अमेरिका र साइप्रसबाट एक–एक उडान हुनेछ ।
यस्तो छ सर्त
युयानमा ८५ प्रतिशत यात्रु हुनुपर्ने पहिलो सर्त राखिएको छ । त्यस्तै, नेपाल आउन चाहने नेपालीले पिसिआर वा आरडिटीको नेगेटिभ रिपोर्टको प्रमाणपत्र पेस गर्नुपर्नेछ । वायुसेवा कम्पनीले दूतावासमार्फत मात्रै समन्वय गर्नुपर्ने हुन्छ । यात्रु आइसकेपछि सरकारको निर्णयअनुसार क्वारेन्टाइनमा बस्नुपर्नेछ । सरकारले तोकेको भाडा करसहित भएकाले तोकेको भाडाभन्दा बढी असुल गर्न पाइनेछैन ।
भाडा कहाँ कति
संख्या गन्तव्य भाडा (डलर) १ ओमन ५१० २ साउदी अरब दमाम ५९० ३ साउदी अरब रियाद ६३० ४ बैंकक, थाइल्यान्ड ३९० ५ ढाका, बंगलादेश १६५ ६ मलेसिया ५२० ७ दोहा, कतार ५४५ ८ युएई ५०० ९ कुवेत ५७० १० कम्बोडिया ४०० ११ बहराइन ५४५ १२ साउदी अरब जेदाह ७७० १३ सुडान ९४० १४ माले, माल्दिभ्स ५०५ १५ हङकङ ५५० १६ दिल्ली २०५ १७ मुम्बई ३१० १८ बेंग्लोर ३३५ १९ ओमन ८१५ २० साइप्रस ८७५ २१ नारिता, जापान ९३५ २२ हिथ्रो (युके) १३५० २३ फ्र्यांकफर्ट (जर्मनी) १२५ सभार नयाँ पत्रिका





