January 18, 2021, Monday
२०७७ माघ ५, सोमबार

सेनाको उदाहरणीय काम: कोरोना संक्रमितको शव व्यवस्थापनमा महिला सैनिक

  • 44
    Shares

काठमाडौं, नेपाली सेनाले कोरोना संक्रमणबाट मृत्यु भएकाहरूको शव व्यवस्थापनमा सैनिक महिला परिचालन गरेको छ । त्यसका लागि उनीहरूलाई विशेष तालिम पनि दिइएको छ ।

सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार शव दहनमा अभ्यस्त गराउन सेनाले उपत्यका पृतनामा कार्यरत सैनिक महिलालाई एक साताको तालिम दिइएको थियो । तालिममा सिपाही दर्जाका १० जना सहभागी थिए । उनीहरूले ६ वटा शव दहन गरिसकेको सैनिक प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौडेलले बताए ।

‘महिला सशक्तीकरणका लागि सेनाले गरेको यो एउटा नौलो प्रयोग हो,’ पौडेलले भने, ‘राष्ट्रका लागि आवश्यक हरेक क्षेत्रमा महिलाले उत्तिकै योगदान दिन सक्छन् भन्ने सन्देश प्रवाह गर्न खोजेका हौँ । यही कदमअन्तर्गत शव दहनमा महिला सैनिक प्रयोग गरिएको हो ।’

नेपाली समाजमा व्याप्त अन्धविश्वासका कारण महिलालाई शव दाहसंस्कारमा कमै सहभागी गराइन्छ । सैनिक प्रवक्ता पौडेलले भने, ‘महिला र पुरुष बराबरी हुन् । शव दहनमा महिलाको प्रयोग यसैको एउटा विम्ब हो । नेपाली सेना यसरी नै प्रत्येक क्षेत्रमा सैनिक महिलालाई सशक्त बनाउन चाहन्छ ।’

उनका अनुसार सातदिने तालिमका सहभागीलाई शव दहनका समुदायगत प्रक्रिया र संक्रमणबाट बच्ने सबै उपाय सिकाइएको छ । हिन्दू धर्ममा आस्था राख्ने समुदायका मृतकको शव पशुपतिनाथ मन्दिरस्थित विद्युतीय शव दहन केन्द्रमा दाहसंस्कार गर्ने गरिएको छ । यस्तै, बौद्ध धर्मावलम्बीहरूको शव स्वयम्भूस्थित घाटमा समाधिस्थ गरिन्छ । त्यसबाहेक इसाई, मुस्लिमलगायत धर्मावलम्बी समुदायका मृतकको शव उनीहरूकै परम्पराअनुसार दहन गर्न सैनिक महिलाले सघाउनेछन् ।नयाँ  पत्रिकाबाट

शीर्ष समाचार

धेरै पढिएको