April 22, 2021, Thursday
२०७८ बैशाख ९, बिहीबार

स्नातकोत्तर तहको अन्तिम परीक्षा दुई घण्टाको मात्र लिने

  • 1
    Share

काठमाडौं, कोरोना जोखिमलाई मध्यनजर गर्दै त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर (एमए) को अन्तिम परीक्षा दुई घण्टाको मात्र लिने भएको छ । नेपालमा कोरोना सङ्क्रमण कायम रहेसम्म स्नातकोत्तर तहमा समय घटाउने निर्णय विश्वविद्यालयले गरेको हो ।

स्नातकोत्तर तहमा चार घण्टाको परीक्षा लिने झण्डै चार दशक लामो अभ्यासलाई परिवर्तन गर्दै विश्वविद्यालयले परीक्षालाई अब दुई घण्टामा सीमित पार्ने निर्णय गरेको हो ।

व्यवस्थापन सङ्कायका डीन प्रा.डा. डिल्लीराज शर्माले विश्वविद्यालयको कार्यकारी परिषद्ले कोरोना सङ्क्रमण अवधिमा परीक्षाको प्रावधान परिवर्तन गर्न सक्ने अधिकार दिएलगत्तै कार्यान्वयन सुरु गरिएको जानकारी दिएका छन् । प्राज्ञिक परिषद्बाट पारित गरी कार्यान्वयन गर्न लागिएको हो । मङ्सिर महिनामा सञ्चालन हुने स्नातकोत्तर तहको परीक्षाबाट यो प्रावधान कार्यान्वयनमा आउनेछ ।

डीन शर्माले सङ्क्रमणको जोखिम कायमै रहेकाले विद्यार्थीलाई लगातार चार घण्टा परीक्षा हलमा राख्दा सङ्क्रमण उच्च हुनेहुँदा यसलाई दुई घण्टामा सीमित गरिएको जानकारी दिए । विद्यार्थीलाई पानी पिउने, शौचालय, परीक्षाको व्यवस्थापनमा खटिनुपर्ने जनशक्ति लगायत सबै पक्षको विचार गर्दा परीक्षा दुई घण्टामा नै सीमित राख्नु उपयुक्त ठानिएको उनको भनाइ छ ।

राजधानीको पब्लिक युथ क्याम्पसका प्रमुख बलराम थापाले अन्तर्राष्ट्रिय मान्यता अनुसार स्नातकोत्तर तहमा चार घण्टाको परीक्षा लिने गरिएको उल्लेख गर्दै विशेष अवस्थाका लागि मात्र समय कम हुनुपर्ने बताएको गोरखापत्रमा खबर छ ।

शीर्ष समाचार

धेरै पढिएको