April 18, 2024, Thursday
२०८१ बैशाख ७, शुक्रबार

पाँच दिनमा चार बलात्कारका घट्ना, १५ वटा उजुरी दर्ता 

धनगढी, महिला हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेका बेला सुदूरपश्चिममा महिला हिंसाका घटनाहरु भइरहेका छन् । अभियान सुरु भएको पाँच दिनको अवधिमा चार बलात्कारका घटना घटेका छन् भने यो अवधिमा १५ वटा उजुरी दर्ता भएका छन् ।

अभियानको पहिलो दिन मंसिर १० गते बैतडीको सिगास गाउँपालिकाकी १८ वर्षीया किशोरीमाथि बलात्कार भएको घटना मिलापत्रमा टुंग्याईएको घटना बाहिरियो । सो घटना ६ महिनापछि सार्वजनिक भएको थियो । सो घटना मिलापत्र गराउने वडाध्यक्ष सहित ६ जना पक्राउ परेका छन् । मिलापत्र गरेको आरोपमा एक जना अझै फरार रहेको उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

अभियानको दोस्रो दिन ११ गते डडेल्धुराको नवदुर्गा गाउँपालिकाकी मानसिक रोगी युवतीमाथि बलात्कार भयो । घटनामा पक्राउ परेका एक जनाको म्याद थप गरि अदालती प्रक्रियामा छ । बलात्कारमा संलग्न रहेको आशंकामा अर्का एक जनाको खोजी कार्य भइरहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलले जनाएको छ ।

कैलालीमा बालिका बलात्कार गरेको आरोपमा एक जना सोमबार पक्राउ परेका छन् । मोहन्याल गाउँपालिकाकी बालिका बलात्कारको आरोपमा सोही ठाउँका १९ वर्षीय जीवन शाहीलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । असोज २५ गते साँझ आफ्नै घरमा बोलाई बलात्कार गरेका भन्ने जाहेरीका आधारमा शाहीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी उपरीक्षक अनुप समशेर जवराले बताए । पक्राउ परेका उनीमाथि अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

५ दिनको अवधिमा कञ्चनपुरमा लैगिंक हिँसाका २, घरेलु हिंसाका ४ वटा उजुरी दर्ता भएका छन् । बैतडी र डडेल्धुरामा पनि घरेलु हिंसाका १–१ वटा उजुरी परेका छन् । कैलाली र कञ्चनपुरमा १–१ वटा बहुविवाहका उजुरी परेका छन् । डडेल्धुरामा १ र बैतडीमा २ गरी ३ वटा बलात्कार उजुरी परेको प्रदेश प्रहरी कार्यालयको तथ्याकंमा उल्लेख छ ।

बढ्दो महिला हिंसा घट्ना

सुदूरपश्चिममा पछिल्लो चार महिनायता प्रतिदिन सरदर दुई जना महिला हिंसाबाट पीडित भएको पाइएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको तथ्यांक अनुसार महिला हिंसा तथा महिलामाथि हुने जवरजस्तीकरणीका घटनाहरुको अवस्था बढोत्तरी छ । साउनदेखि मंसिर ९ गतेसम्म मात्रै महिला हिंसाका १ सय ५८ उजुरी परेका हुन् ।

जवरजस्तीकरणीका ९८, जवरजस्तीकरणी उद्योगका ३८ वटा उजुरी परेका छन् । अप्राकृतिक मैथुनका ३, यौन दुराचार (बाल यौन दुरुपयोग) का ५, मानव बेचविखन तथा जवरजस्तीकरणीका १, मानव बेचबिखन तथा ओसार पसारका ४, अपहरण तथा जवरजस्तीकरणीका ६ वटा उजुरी परेका छन् । भने हाड नाताका २ र जवरजस्ती करणी पश्चात कर्तव्य ज्यानको १ वटा उजुरी परेको प्रहरीको तथ्यांकमा उल्लेख छ ।राजधानी दैनिकबाट

शीर्ष समाचार

धेरै पढिएको