June 12, 2021, Saturday
२०७८ जेष्ठ २९, शनिबार

चार महिनामा ४१ करोडको स्यानिटाइजर नेपाल भित्रीयो 

काठमाडौँ, चालु आर्थिक वर्षको पहिलो चार महिनामा ४० करोड ९१ लाख ६२ हजार रुपैयाँ बराबरको स्यानिटाइजर नेपाल भित्रिएको छ ।

साउन–कात्तिकसम्म ११ लाख ५४ हजार ६ सय ९१ लिटर स्यानिटाइजर आयात भएको भन्सार विभागको तथ्यांक छ ।

सोही अवधिमा १५ करोड ६२ लाख ४९ हजार रुपैयाँ बराबरको ३ लाख ७१ हजार ५ सय ७४ लिटर अन्य डिसइन्फेक्टेड नेपाल भित्रिएको तथ्यांक छ ।

साउनमा १२ करोड २४ लाख १७ हजार रुपैयाँ बराबरको २ लाख ८८ हजार ९ सय ३३ लिटर, भदौमा १४ करोड २४ लाख ७ हजार रुपैयाँ बराबरको ४ लाख १२ हजार ४ सय ४८ लिटर, असोजमा ८ करोड १२ लाख ७७ हजार रुपैयाँ बराबरको २ लाख ३३ हजार २ सय ८२ लिटर र कात्तिकमा ६ करोड ३० लाख ५९ हजार रुपैयाँ बराबरको २ लाख २० हजार २७ लिटर सेनिटाइजर आयात भएको विभागको तथ्यांक छ । यसबाट ७ करोड ७७ लाख ५८ हजार रुपैयाँ भन्सार महसुल संकलन भएको छ ।

साउनमा ५ करोड ६६ हजार रुपैयाँ बराबरको १ लाख १५ हजार ७ सय ७२ लिटर, भदौमा ३ करोड ५५ लाख २ हजार रुपैयाँ बराबरको १ लाख १ हजार १ सय २० लिटर, असोजमा ३ करोड ४७ लाख ६२ हजार रुपैयाँ बराबरको ६३ हजार ९५ लिटर र कात्तिकमा ३ करोड ५९ लाख १७ हजार रुपैयाँ बराबरको ९१ हजार ५ सय ८६ लिटर अन्य डिसइन्फेक्टेड आयात भएको तथ्यांकमा उल्लेख आजको कान्तिपुर दैनिकमा खबर छ । अन्य डिसइन्फेक्टेडबाट २ करोड ९३ लाख ७२ हजार रुपैयाँ बराबरको भन्सार महसुल संकलन भएको छ । सेनिटाइजर अन्य डिसइन्फेक्टेड चीन, भारत, जापान, इटाली, बंगलादेश, अफगानिस्तान, थाइल्यान्ड, हङकङ, जर्मनी, फ्रान्स, इन्डोनेसिया, मलेसियालगायत मुलुकबाट आयात गरिएको हो ।

नेपालमा रहेका उद्योगले पूर्ण क्षमतामा उत्पादन गरेर बजारमा नल्याएका कारण बाहिरबाट आयात भइरहेको नेपाल औषधि उत्पादक संघका अध्यक्ष नारायणबहादुर क्षेत्री बताउँछन् ।

औषधि उद्योग मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता नहुने भएकाले सेनिटाइजर उत्पादन गरी बिक्री गर्न समस्या भइरहेको उनको भनाइ छ । ‘संघका औषधि उद्योगी साथीहरूमा सेनिटाइजर उत्पादन गर्ने चासो छैन,’ उनले भने, ‘अत्यावश्यक वस्तु उत्पादन गर्ने औषधि उद्योग भएकाले सरकारले तिनलाई भ्याटमा दर्ता गरेको छैन ।

भ्याटमा दर्ता नहुँदा औषधि उद्योगलाई भने समस्या छ ।’ ५० लाख रुपैयाँभन्दा बढी कारोबार भयो भने सरकारलाई भ्याट बुझाउनुपर्छ । भ्याटमा नभएपछि औषधि उद्योगले कहाँ लगेर तिर्ने भन्ने चुनौती रहेको उनले बताए ।

शीर्ष समाचार

धेरै पढिएको