April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार

कोरोनाका कारण मलेसियामा नयाँ श्रमिक लाने योजना अनिश्चित

काठमाडौं, नेपालीको श्रम गन्तव्य मलेसियामा कोभिड–१९ महामारी पुनः फैलिन थालेपछि नयाँ श्रमिक लैजाने योजना अनिश्चित बनेको छ । कोभिड–१९ महामारी नियन्त्रणमा आएको भन्दै मलेसियामा जनवरीदेखि नयाँ श्रमिक लैजाने योजना बनाइएको थियो ।

‘नयाँ श्रमिक ल्याउन मागपत्र प्रमाणीकरण गर्ने सोचमा थियौं । यहाँ फेरि संक्रमण फैलिन थाल्यो । अब नयाँ श्रमिक ल्याउने अवस्था छैन । सम्भवतः भ्याक्सिन नआएसम्म नयाँ श्रमिक आउन सक्दैनन्,’ मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले भने ।

मलेसियाले जुन पहिलो सातादेखि सेप्टेम्बर पहिलो सातासम्म कोभिडलाई नियन्त्रणमा राखेको थियो । त्यसपछि भने दिनहुँ संक्रमण बढिरहेको छ । शनिबार १ हजार १ सय ६८ जनालाई संक्रमण देखिएको थियो । नयाँ श्रमिक ल्याउने अवस्था नभएपछि रोजगारदाता कम्पनीहरूले करार अवधि समाप्त भएका नेपाली श्रमिकलाई घर आउनसमेत नदिएको आजको कान्तिपुर दैनिकमा खबर छ। रोजगारदाताले अवधि सकिएका श्रमिकलाई फकाएर करार नवीकरणका लागि आग्रह गर्न थालेको पाण्डेले बताएका छन् ।

मलेसियाले श्रमशक्तिको संकटलाई समाधान गर्न आन्तरिक बजारबाटै विदेशी श्रमिक आपूर्ति गर्न पाइने गरी सहजीकरण गर्न थालेको छ । यसअघि अन्य रोजगारदाता कम्पनीमा काम गर्ने श्रमिकलाई आपूर्ति गर्न निकै कठिन थियो । यसले रोजगारी गुमाएर मलेसियामै काम गर्न इच्छुक नेपालीसहित विदेशी श्रमिकले मलेसिया छाड्नुपर्ने छैन ।

शीर्ष समाचार

धेरै पढिएको