December 1, 2020, Tuesday
२०७७ मंसिर १७, बुधबार

तिहारलगत्तै त्रिवि परीक्षा सञ्चालन गरिने

  • 3
    Shares

काठमाडौं, त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले तिहार लगत्तै स्थगित परीक्षा धमाधम सञ्चालन गर्ने भएको छ । कोरोना भाइरसका कारण गत चैत महिनामा स्थगित भएका स्नातक तथा स्नातकोत्तर तहको परीक्षा तिहार लगत्तै सञ्चालन गरिने जानकारी विश्वविद्यालयले दिएको छ ।

त्रिभुवन विश्वविद्यालयका रजिस्ट्रार प्रा पेशल दाहालले स्थगित परीक्षाका बारेमा तिहारअघि नै सूचना आउने र तिहारपछि परीक्षा सञ्चालन गरिने जानकारी दिएका छन् ।

अन्तिम तहको परीक्षा प्राथमिकतामा
विश्वविद्यालयले स्थगित गरिएकामध्ये अन्तिम तह या सेमेस्टरमा अध्ययन गर्ने विद्यार्थीलाई प्राथमिकता दिने योजना बनाएको छ । यस क्रममा स्नातक तह चौथो वर्ष या स्नातकोत्तर तहको अन्तिम सेमेस्टरका विद्यार्थीको परीक्षा पहिलो प्राथमिकतामा राखिएको छ ।

सेमेस्टरको मङ्सिर १५ पछि
विश्वविद्यालयले स्थगित स्नातक तथा स्नातकोत्तर तहको परीक्षा मङ्सिर १५ पछि सञ्चालन गर्ने भएको आजको गोरखापत्र खबर छ । यस वर्ष मङ्सिर १ गते तिहार परेको छ । विद्यार्थीलाई दुई साताको समय दिएर परीक्षा सञ्चालन गर्न लागिएको हो । सेमेस्टरमा अध्ययन गर्ने विद्यार्थीको परीक्षा सञ्चालन गर्ने अधिकारको विश्वविद्यालयको डिन कार्यालयलाई दिइएको छ ।

वार्षिकको परीक्षा अन्तिम साता
यसैबीच विश्वविद्यालयले वार्षिक परीक्षा प्रणाली अनुसार अध्ययन गर्ने विद्यार्थीको परीक्षा मङ्सिर अन्तिमबाट सञ्चालन गर्ने भएको छ ।

भौतिक उपस्थितिमै परीक्षा
विश्वविद्यालयले भौतिक उपस्थितिमै विद्यार्थीको परीक्षा लिने कुरा आफ्नो पहिलो प्राथमिकतामा भएको जनाएको छ । पूर्वाञ्चल विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय लगायतका विश्वविद्यालयले स्नातक तथा स्नातकोत्तर तहको परीक्षा अनलाइन माध्यमबाट लिए पनि उच्च शिक्षामा धेरै विद्यार्थीको चाप रहेको त्रिविले भने भौतिक उपस्थितिमै परीक्षा लिने योजना बनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको