March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

महानगर र उपमहानगरका सहसचिवको दरबन्दी

काठमाडौं, अब सबै महानगरपालिका र उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सहसचिव हुने भएका छन् । काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत विशिष्ट श्रेणी (सचिव) रहने व्यवस्था थियो तर अब सहसचिव नै रहने छन् ।

असोज अन्तिममा बसेको मन्त्रिपरिषद्को निर्णयले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत पनि सहसचिव नै रहने निर्णय गरेसँगै अब सबै महानगरपालिकाका र उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सहसचिव नै रहने भएका हुन् ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अहिले काठमाडौँबाहेक ललितपुर, भरतपुर, विराटनगर, वीरगञ्ज र पोखरा महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत सहसचिव नै रहँदै आएको जनाएको छ ।

त्यस्तै, उपमहानगरपालिकाहरू धरान, इटहरी, जनकपुर, कलैया, जितपुर सिमरा, हेटौँडा, बुटवल, तुलसीपुर, घोराही, नेपालगञ्ज र धनगढी गरी ११ वटै उपमहानगरपालिकामा पनि प्रमुख प्रशासकीय अधिकृत सहसचिव नै छन् ।

काठमाडौँ महानगरपालिका पुरानो र देशकै सङ्घीय राजधानीको महानगरपालिका भएकाले काम गर्न थप सहजता होस् भनेर सरकारले सचिवलाई नै प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी प्रदान गरेको थियो तर काम गर्ने क्रममा सचिवभन्दा सहसचिवबाट अझ सहजता हुने देखिएकाले सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत सहसचिव राख्ने निर्णय गरेको मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले जानकारी दिएका छन् ।

अधिकारीले भने, “सचिवले कार्यान्वयन तहको भन्दा पनि नीतिगत तहमा काम गर्ने हो, महानगरपालिकामा सचिवलाई प्रमुख प्रशासकीय अधिकृत बनाउँदा नीतिगतभन्दा पनि कार्यान्वयन तहको काम बढी हुने भएकाले प्रमुख प्रशासकीय अधिकृत सहसचिवलाई पठाउन लागिएको हो ।”

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिफारिस गर्ने व्यक्ति मन्त्रालयमा पनि सचिव नै रहने र महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत पनि सचिव रहँदा व्यावहारिकता नमिलेको भनाइ आएको थियो । साथै सार्वजनिक खर्च पुनरवलोकन आयोगको प्रतिवेदनले अनावश्यक पद काट्दै जाने भनेकाले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत सहसचिव राखेको अधिकारीले बताए ।

मन्त्रालयले काठमाडौँ महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत सहसचिव पठाउने प्रक्रिया सुरु गरिसकेको छ । हाल काठमाडौँ महानगरपालिकामा सहसचिवको जिम्मेवारीमा कार्यरत राजेश्वर ज्ञवालीलाई नै प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी प्रदान गर्न लागिएको मन्त्रालयले जनाएको छ ।गोरखापत्रबाट

शीर्ष समाचार

धेरै पढिएको