December 3, 2020, Thursday
२०७७ मंसिर १८, बिहीबार

तिहार र छठमा चिनी अभाव

  • 11
    Shares

काठमाडौं, सरकारको पूर्ण स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सहुलियत चिनी तिहार र छठ पर्वमा नआउने भएको छ । १२ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले चाडपर्वलाई लक्षित गरी खाद्य व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनलाई ३० हजार मेट्रिक टन चिनी आयात गर्न जिम्मेवारी दिए पनि खाद्य व्यापार कम्पनीले समयमै चिनी ल्याउन नसकेको हो ।

त्यसबेला सरकारले ५० प्रतिशत भन्सार महसुल छुटमा खाद्य व्यापार कम्पनीलाई १० हजार र साल्ट ट्रेडिङलाई २० हजार टन चिनी आयात गर्न स्वीकृति दिएको थियो  । सरकारले दिएको सो स्वीकृतिअनुसार साल्ट ट्रेडिङले सहुलियत चिनी ल्याइरहेको छ । तर, खाद्य व्यापार कम्पनीले चिनी आयात गर्ने कम्पनीसमेत टुंगो लगाउन सकेको छैन ।

खाद्य व्यापार कम्पनीका नायब महाप्रबन्धक श्रीमणि खनालले खाद्यले चिनी आयात गर्नकै लागि गरिएको टेन्डरमा कुनै कम्पनी इच्छुक नभएकाले चिनी ल्याउन समस्या भएको बताएका छन् । उनले पहिलो पटक टेन्डर गर्दा १० हजार टन चिनी आयात गर्न कुनै पनि कम्पनी इच्छुक नहुँदा सहुलियत चिनी ल्याउन नसकेको बताएको आजको राजधानी दैनिकमा खबर छ । उनले चिनी आयातका लागि फेरि दोस्रो पटक टेन्डर आह्वान गर्ने तयारी भइरहेको बताए ।

महाप्रबन्धक खनालले अहिले टेन्डर आह्वान गरेर परिहाले पनि खाद्य कम्पनीको सहुलियत चिनी आउन करिब तीन महिना लाग्ने बताए । उनले सरकारी प्रक्रिया पूरा गर्दा सो समय लाग्ने जिकिर गरे ।

‘सार्वजनिक खरिद ऐनअनुसार सूचना प्रकाशन गरियो । तर, एउटै कम्पनीले पनि आवेदन दिएनन्,’ महाप्रबन्धक खनालले भने, ‘चिनी आयातको टेन्डर मिति २९ असोजसम्म थियो । तर, कुनै पनि कम्पनीको टेन्डर परेन । त्यसकारण फेरि टेन्डर गर्नुपर्ने भएको छ  ।’

ऐनअनुसार ४५ दिनको सूचना प्रकाशन गरेपछि मूल्यांकन, एलसीलगायत प्रक्रिया गर्दा यो तिहार छठसम्म आउने सम्भावना छैन ।

शीर्ष समाचार

धेरै पढिएको