December 4, 2020, Friday
२०७७ मंसिर १९, शुक्रबार

सरकार र सहकारीले किसानबाट ३ लाख टन धान खरिद गर्ने 

  • 22
    Shares

काठमाडौं, सरकारले ताकेको न्यूनतम समर्थन मूल्यमा किसानको करिब ३ लाख मेट्रिकटन धान खरिद गर्न कृषि तथा पशुपक्षी विकास मन्त्रालयले पहल थालेको छ । सरकारी संस्थान खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका साथै देशभरका कृषि सहकारीलाई अनुदान रकम दिएर किसानबाट न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्न मन्त्रालयले प्रोत्साहन गरेको हो ।

गत जेठमा मन्त्रालयले बाली लगाउनुअघि नै मोटा धानको २७ सय ३५ र मध्यम धानको २८ सय ८५ रुपैयाँ प्रतिक्विन्टलका दरले न्यूनतम समर्थन मूल्य निर्धारण गरेको थियो । चलनचल्तीभन्दा करिब ७–८ सय रुपैयाँ प्रतिक्विन्टल बढी तोकिएको भन्दै धान खरिदमा व्यवसायी इच्छुक नभएपछि मन्त्रालयले कृषि सहकारीलाई अनुदान दिएर परिचालन गर्ने निर्णय गरेको आजको नयाँ पत्रिका दैनिकमा खबर छ  ।

कृषिमन्त्री घनश्याम भुसालको सचिवालयमा कार्यरत उपसचिव गंगा आचार्यका अनुसार खाद्य कम्पनी र कृषि सहकारीले करिब ३ लाख मेट्रिकटन धान किसानबाट खरिद गर्ने लक्ष्य राखेको बताएका छन् । ‘किसानबाट न्यूनतम समर्थन मूल्यमा धान खरिद गरेबापत खाद्य कम्पनी र कृषि सहकारीलाई प्रतिक्विन्टल १ सय १२ रुपैयाँ अनुदान दिने भनिएको छ । यसका लागि करिब २० करोड रुपैयाँ मन्त्रालयले उपलब्ध गराउने निर्णय गरेको छ,’ आचार्यले भने, ‘किसानबाट न्यूनतम समर्थन मूल्यमा धान खरिदको परिमाण बढाउन सकिएमा आगामी वर्ष उत्पादन बढ्ने तथा किसानसमेत लाभान्वित हुने अवस्था आउँछ ।’

सरकारी खाद्य कम्पनीले यो वर्ष ९५ हजार टन धान किसानबाट न्यूनतम समर्थन मूल्यमा खरिद गर्ने लक्ष्य राखेको छ । सो परिमाण थोरै भएको पाएपछि असोज पहिलो साता नै कृषि सहकारी परिचालन गरी किसानबाट न्यूनतम समर्थन मूल्यमा धान खरिदको परिमाण बढाउने निर्णय भएको थियो ।

शीर्ष समाचार

धेरै पढिएको