December 1, 2020, Tuesday
२०७७ मंसिर १६, मंगलवार

कक्षा–१२ को परीक्षा समय डेढ घन्टा मात्र

  • 24
    Shares

काठमाडौं, मंसिर ९ गतेदेखि सुरु हुने कक्षा–१२ को परीक्षामा पुरानै मोडेलमा प्रश्नपत्र तयार भए पनि समय र प्रश्नको भार कम हुने भएको छ । अघिल्ला वर्षको मोडेलअनुसरण गर्दै डेढ घन्टामा हल हुने गरी प्रश्न सोध्ने तयारी परीक्षा नियन्त्रण कार्यालयको छ ।

राष्ट्रिय परीक्षा बोर्डले सैद्धान्तिक परीक्षाको अंकलाई शतप्रतिशत मानेर त्यसको ४० प्रतिशत मूल्यांकनका लागि मात्र परीक्षा लिँदै छ । बाँकी ४० प्रतिशत मूल्यांकनमा कक्षा ११ को नतिजालाई आधार बनाइनेछ । र, २० प्रतिशत आन्तरिक मूल्यांकन हुने गरी कार्यविधिमा उल्लेख छ । जस्तो– ८० पूर्णांकको विषय छ भने त्यसको ४० प्रतिशत अर्थात् ३२ अंकका लागि मात्रै परीक्षा लिइनेछ । सैद्धान्तिक र प्रयोगात्मकको अंक विषयअनुसार फरक छन् ।

प्रश्नपत्र पुरानै मोडेलमा भए पनि प्रश्न संख्या घट्ने बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले बताए । ‘प्रश्न सोधिने समूह विगतजस्तै हुन्छन्, भार मात्र घट्ने हो । तर, सबै कोर्स समेट्ने गरी प्रश्न सोधिने भएकाले विद्यार्थीले सबै युनिट पढ्नुपर्छ,’ उनले भने । मुख्य विषयका मोडेल प्रश्न तयार गरी १-२ दिनमा बोर्डको वेबसाइटमा राखिने उनले जानकारी दिए ।

अघिल्ला वर्षमा ८० पूर्णांकको विषयमा समूह ‘क’मा चार प्रश्न सोधेर तीनवटा हल गर्न दिइन्थ्यो भने अहिले एउटा मात्र हल गर्न दिने व्यवस्था हुँदै छ । विगतमा जति समूह थिए या लामो वा छोटो उत्तर आउने प्रश्न सोधिन्थ्यो, अहिले त्यही शैलीमा प्रश्न तयार गरिँदै छ । तर, प्रश्नको संख्या घट्नेछ । कोभिड–१९ का कारण विद्यार्थीलाई परीक्षा दिन सहज बनाउने उद्देश्यले तीन घन्टाको साटो डेढ घन्टा समय र ४० प्रतिशत मात्र मूल्यांकन गर्न लागिएको हो ।

सरकारले परीक्षा सञ्चालनमा सहमति दिएपछि ९ मंसिरदेखि सुरु हुने गरी बोर्डले तालिका सार्वजनिक गरिसकेको छ । ८ वैशाखदेखि सञ्चालन हुने तय भएको कक्षा–१२ को परीक्षा कोरोना संक्रमण बढेपछि स्थगित भएको थियो । नयाँ तालिकाअनुसार बिहान ८ देखि साढे ९ बजेसम्म परीक्षा सञ्चालन हुनेछ ।नयाँ पत्रिकाबाट

शीर्ष समाचार

धेरै पढिएको