November 29, 2020, Sunday
२०७७ मंसिर १४, आईतवार

चाडपर्व सुरु भएसँगै बढ्यो चोरी

  • 2
    Shares

काठमाडौं, काठमाडौं टोखास्थित नयाँ पुस्ता सहकारी संस्थाको सटर उप्किएको देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरे । प्रहरी घटनास्थल पुग्यो । सटरका ताल्चा काटिएका थिए । कार्यालयभित्र दराजमा राखिएको रकम मात्र होइन, सिसिक्यामेराको दृश्य रेकर्ड हुने डिभिआर (डिजिटल भिडियो रेकर्डर) नै गायब थियो ।

महाराजगन्जस्थित हिमचुली बहुउद्देश्यीय सहकारी संस्थाको पनि सटर फोडिएको भेटियो । त्यहाँको डिभिआर पनि गायब थियो । ललितपुर मानभवनस्थित नगदेश बहुउद्देश्यीय सहकारी संस्था पनि यही मोडेलबाट फोरियो । पक्राउ पर्ने डरले चोरले त्यहाँको डिभिआर पनि लिएर गएको भेटियो ।

उपत्यकामा करिब १५ दिनयता भएका चोरीका तीनवटै घटनामा चोरी गर्न अपनाइएको तरिका एकै छ । तीनवटै घटना एउटै समूहबाट भएको निष्कर्षमा प्रहरी पुगेको छ । तर, त्यसमा संलग्न समूह पक्राउ गर्न सकेको छैन । ‘यसपटक चोरीमा एकै शैलीमा केही नौलो तरिका अपनाइएको छ,’ महानगरीय अपराध महाशाखाका डिएसपी भरत थापामगर भन्छन् ।

खासगरी, चाडपर्वका वेला वित्तीय संस्थालाई चोरले निसाना बनाउने गरेका छन् । महानगरीय प्रहरी परिसर, काठमाडौंको तथ्यांक केलाउँदा हरेक वर्ष दसैँ र तिहारआसपास चोरीका घटना बढेको देखिन्छ । गत वर्ष भदौ, असोज र कात्तिकमा चोरीका ५० भन्दा धेरै घटना भएका थिए । पकेटमार, डकैती, ठगी र लुटपाटजस्ता घटना पनि यस अवधिमा बढ्ने गरेको तथ्यांकबाट देखिन्छ । नयाँ पत्रिकाबाट

शीर्ष समाचार

धेरै पढिएको