November 29, 2020, Sunday
२०७७ मंसिर १५, सोमबार

बन्द फ्ल्याटबाट २३ किलो सुन बरामद, नेपालबाट सुन तस्करीमा बिजेपी नेताका भाइ संलग्न 

  • 42
    Shares

पर्सा, नेपालबाट भारत तस्करी गर्न लागिएको २३ किलो सुन पर्सा प्रहरीले शनिबार बरामद गरेको छ । भारतीय नागरिक बस्दै आएको वीरगन्ज महानगरपालिका– ५ रेसमकोठीमा रहेको गणेश अपार्टमेन्टबाट प्रहरीले शनिबार २३ किलो दुई सय ५७ ग्राम सुन बरामद गरेको हो । तर, तस्करीमा संलग्न कसैलाई पनि प्रहरीले पक्राउ गर्न सकेको छैन । बरामद सुनको मूल्य करिब १८ करोड रुपैयाँ छ । 

सुन बरामद भएको फ्ल्याट भारत रक्सौल पूर्वीचम्पारणका अशोक सिन्हाको भएकाले उनकै सुन भएको हुन सक्ने पर्साकी प्रहरी प्रमुख एसपी गंगा पन्तले बताइन् । सिन्हा कहिलेकाहीँ मात्र नेपाल आउने गरेको उनको भनाइ छ । सुन दराजभित्र राखिएको अवस्थामा बरामद भएको हो । 

सिन्हाको समूहले लामो समयदेखि नेपालबाट भारतमा सुन तस्करी गर्दै आएको प्रहरी आशंका छ । सिन्हा बिहारका भारतीय जनता पार्टीका नेता प्रमोदकुमार सिन्हाका भाइ हुन् । वीरगन्जमा सुन बरामद भएपछि बिहारमा हुन लागेको चुनाव र सुन तस्करीलाई जोडेर भारतीय सञ्चारमाध्यमले समाचार सम्प्रेषण गरेका छन् । मान्छे पक्राउ नपरेकाले सुनको स्रोतबारे केही भन्न नसकिने एसपी पन्त बताउँछिन् । ‘केही सुन चीनबाट आएजस्तो देखिन्छ,’ उनले भनिन्, ‘मान्छे पक्राउ परेपछि यसबारे थप पत्ता लाग्नेछ ।’ नयाँ पत्रिकाबाट

शीर्ष समाचार

धेरै पढिएको