December 4, 2020, Friday
२०७७ मंसिर १९, शुक्रबार

कांग्रेस महाधिवेशन अन्योलमा

  • 11
    Shares

काठमाडौं, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आगामी १४औं महाधिवेशन तोकिएको समयमा सम्पन्न हुनेमा अन्योल बढेको छ । पूर्वनिर्धारित कार्यतालिकाअनुसार ७ देखि १० फागुनका लागि तोकिएको महाधिवेशनको सुरु कार्यतालिका नै कोरोनाका कारण प्रभावित भएपछि महाधिवेशन कहिले हुने भन्नेमा कांग्रेस आफैं अन्योलमा छ ।

कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले पछिल्लो समय महाधिवेशनबारे के गर्ने भन्ने केही छलफल नै नभएको बताए । ‘अहिले त केही कुरा भएको छैन र यसै भन्न सकिने अवस्था पनि छैन, मिटिङ स्थगित भएको छ, पछि छलफल होला,’ महतले राजधानीसँग भने ।

कांग्रेसले महाधिवेशनबारे छलफल गर्न भन्दै पछिल्लो पटक २५ असोजका लागि बोलाएको केन्द्रीय समिति बैठक केन्द्रीय सदस्यहरूमा कोरोना संक्रमण पुिष्ट भएपछि स्थगित गरिसकेको छ । अर्को बैठक कहिले बस्ने भन्ने बारे कुनै निर्णय भइसकेको छैन ।

‘कोरोनाकै कारण पूर्वनिर्धारित कार्यतालिका प्रभावित भइसकेको छ, अनौपचारिक छलफलमा जेठ अन्तिम वा असार पहिलो साता गर्ने भन्नेमा सभापतिको संकेत आएको छ,’ सभापति देउवा निकट केन्द्रीय सदस्य मीन विश्वकर्माले भने ।
कांग्रेसले पछिल्लो पटक २२ असारमा कोरोना संक्रमणको कारण देखाउँदै पार्टी संरचना समायोजनदेखि क्रियाशील सदस्यता वितरण र पार्टीका तल्ला तहका सबै संरचनाको अधिवेशनको मिति हेरफेर गरेको थियो ।

कांग्रेसले केन्द्रबाहेकका तल्ला तहका अधिवेशनको मिति कार्यतालिका प्रभावित भएपछि यसअघि नै दुई पटक सारेको थियो । यस पटक समेत केन्द्रीय समिति बैठकबाट कांग्रेसले केन्द्रीय महाधिवेशनसहित सबै अधिवेशन सार्ने तयारी गरेको थियो ।
अन्तरिम संरचना समायोजन र क्रियाशील सदस्यता वितरणका लागि पछिल्लो पटक तोकेको म्याद सकिएर कार्यतालिका प्रभावित भएसँगै आगामी केन्द्रीय समितिबाट फेरि कार्यतालिका परिमार्जन गर्ने तयारी कांग्रेसको छ ।

तर, नेता कृष्णप्रसाद सिटौलाले भने केन्द्रीय समितिको म्याद आगामी फागुनमा नै सकिने हुँदा फेरि ६ महिनाको म्याद थप गर्दा पनि भदौमा नै थप म्याद समेत सकिने भन्दै अन्तिममा गर्नु भन्दा बैशाख वा जेठमा नै महाधिवेशन गर्ने गरी अघि बढ्न सभापति देउवालाई सुझाउँदै आइरहेका छन् ।

२०–२३ फागुन २०७२ मा सम्पन्न १३औं महाधिवेशनबाट चार वर्षका लागि सभापति निर्वाचित भएका देउवाले गत फागुनमा एक वर्षको कार्यकाल थप गरेर आगामी फागुनमा महाधिवेशन गर्ने कार्यतालिका ल्याएका थिए ।राजधानी दैनिकबाट

शीर्ष समाचार

धेरै पढिएको