December 4, 2020, Friday
२०७७ मंसिर १९, शुक्रबार

कोरोनाले छिनेको खुसी : एकै परिवारका ३ जनाको मृत्यु

  • 13
    Shares

पोखरा, झण्डै एक शताब्दी उमेर बाँचिसकेका बाबु बिरामी परेपछि अस्पताल भर्ना भए । ४ छोरा र १ छोरीका पिता त्यसमा पनि नेकपा जिल्लास्तरमा राम्रो पकड छँदै थियो । बाबुलाई भेट्न छोराहरू लगायत आफन्त, शुभचिन्तक बरोबर अस्पताल आइरहे ।

यता बाबुको उपचार हुँदै गर्दा चारै जना छोराहरू तथा परिवारका अन्य सदस्यलाई क्रमश कोभिड १९ देखियो । यत्तिकैमा कोरोना संक्रमणकै कारण एक साताको अन्तरमा बाबु र २ छोराहरूसहित ३ जनाको प्राणपखेरू उड्यो ।

यो दर्दनाक घटना हो, तनहुँ भिमादको । एकताका इटालीमा हुने गरेको यसप्रकारको मृत्यु घटनाको झल्को दिने गरी ३ जना सदस्यको मृत्यु भएपछि सिंगो भिमाद शोकमा डुबेको छ । साथसाथै अझै थप संशय छँदैछ । किनकि जेठा छोरा र माहिली बुहारी काठमाडौंमा भेन्टिलेटरमै उपचार गराइरहेका छन् ।

तनहुँको साबुङ हाल घिरिङ गाउँपालिकाका धर्मकुमार श्रेष्ठको परिवार पहिले नै पहाडबाट तराई झर्यो ।खेती किसान मुल पेसा थियो । परिवारमा श्रीमती, ४ छोरा र १ छोरी थिए । नाती नातिना जन्मे । समयक्रममा जेठा छोरा रामकुमार काठमाडौं बस्न थाले । प्रगतिशील साहित्यकार उनी साहित्यमा राम विनय नामले चिनिन्छन् । लामो समय कृषि विकास बैंकमा काम गरेपछि रिटायर्ड भएका थिए ।

माहिला कृष्णकुमार र साहिला विष्णुकुमार व्यापार व्यवसायको सिलसिलामा आफ्नै गाउँठाउँ फर्के । तनहुँको हाल भीमाद नगरपालिका वडा ६ मा दुई भाइले कपडा व्यापार गरे । कृष्णकुमार नेकपा प्रदेश कमिटिका पूर्व सल्लाहकार भएर काम पनि गरे । उनी पूर्व जिविस सदस्य पनि थिए । साहिला विष्णुकुमार नेकपाका जिल्ला सदस्य मात्र रहे । कान्छा अमृतकुमार भने चितवनमै बाबुआमासँग बसे । एक मात्र छोरीको विवाह भएर पोखराका जीवनयापन हुँदै आएको थियो ।

जीवन हाँसीखुसी नै थियो । तर असोज तेस्रो साता श्रेष्ठ परिवारमा महामारीको रूपमा विश्वभर फैलिएको कोरोना छिर्यो । परिवार छिन्नभिन्न बनायो । निमेषमै खुसी खोसेर लग्यो । किनकि एक साता अन्तरमा असोज १८ साँहिला विष्णुकुमारको, असोज २४ मा माहिला कृष्णकुमारको र असोज २५ मा बाबु धर्मकुमारको निधन भयो ।

भिमाद निवासी दधिराज सुवेदीका अनुसार चितवनमा कान्छा छोरासँग बस्दै आएका बाबु धर्मकुमार २ साता अघि बिरामी परेका थिए । बुढ्यौली उमेरमा विभिन्न समस्या बेलाबखत आउँथ्यो । चितवनस्थित चितवन मेडिकल कलेज (सिएमसी) मा भर्ना गरिएका उनलाई बढी च्यापेपछि काठमाडौं मेडिसिटी रेफर गरियो । उपचार क्रममा त्यहाँ कोरोना पुष्टि भएका उनको असोज २५ मा निधन भयो । राजधानी दैनिक

शीर्ष समाचार

धेरै पढिएको