September 20, 2021, Monday
२०७८ आश्विन ४, सोमबार

खसी च्याङ्ग्रा खरिद अन्तिम चरणमा, घटस्थापना पछि बिक्री

काठमाडौं, विगतका बर्षहरुमा जस्तै यो बर्ष पनि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले काठमाडौं उपत्यकामा खसी बोका तथा च्याङ्ग्रा बिक्री गर्ने भएको छ । यो बर्ष घटस्थापनाको भोलिपल्ट कात्तिक २ गतेदेखि खसी, बोका र च्याङ्ग्राको बिक्री खुल्ला गर्ने भएको हो ।

दुई हजार खसी तथा एक हजारको संख्यामा च्याङ्ग्रा वितरण गर्ने योजना अनुरुप खरिद गर्ने प्रकृया अन्तिम चरणमा पुगेको कम्पनीका विभागिय प्रमुख श्रीमणिराज खनालले जानकारी दिएका छन् । ‘सबै तयारी पूरा भयो, ढुवानी गरेर काठमाडौं आइपुग्ने समयको आधारमा खसी बोका ल्याउँछौ’ उनले भने । मागको आधारमा कति सख्यामा खसी बोका खरिद गरेर ल्याउने भन्ने यकिन हुने उनले स्पष्ट पारेका छन् ।

खाद्य व्यवस्था तथा ब्यापार कम्पनीले दशैंलाई लक्षित गर्दै यस वर्ष तीन हजार वटा खसी र च्याङ्ग्रा खरिद गर्नको लागि ढुवानीकर्ताको छनौट गरिसकेको छ । उनीहरुलाई त्यहाँका स्थानीय प्रशासन कार्यालयले सहजीकरण गरेर खसी बोका पठाउने व्यवस्था मिलाउनेछन् ।

खाद्य व्यवस्था तथा ब्यापार कम्पनीले यो बर्ष दाङ र हेटौंडाबाट खसी बोका ल्याउन लागेको छ । च्याङ्ग्रा भने मुस्ताङबाट ल्याइने तयारी भैरहेको छ । यो बर्ष खाद्यले खसी बोका खरिदका लागि ५ करोड ९९ लाख ८६ हजार रुपियाँ बजेट छुट्याएको छ । गतवर्ष सोही परिमाणको खसी–बोका तथा च्याङ्ग्राका लागि कम्पनीले कुल ५ करोड ९८ लाख ८२ हजार रुपियाँ बजेट छुट्याएको थियो । जसमा कम्पनीले १४ सय वटा खसी–बोका र १६ सय वटा च्याङ्ग्रा ल्याएको थियो ।

संस्थानले विगत वर्षहरु जस्तै यस वर्ष पनि चामल, दाल, तेल जस्ता खाद्यवस्तु बिक्री सुरु गरिसकेको छ । उपत्यकाका थापाथली, रामशाहपथ, नख्खु, लगनखेल र सूर्यविनायक तथा उपत्यका बाहिरका २४ स्थानबाट सुपथ मूल्यमा खाद्यवस्तु बिक्री भैरहेको छ । कात्तिक २ गतेदेखि थापाथालीबाट खसी बोका च्याङ्ग्राको बिक्री हुनेछ । खसीबोकाको मूल्य पनि संस्थानले केही दिनमै सार्वजनिक गर्नेछ ।गोरखापत्र

शीर्ष समाचार

धेरै पढिएको