March 28, 2024, Thursday
२०८० चैत्र १५, बिहीबार

दसैँको अग्रिम टिकट खोल्ने सम्भावना न्यून

काठमाडौं, विगतका वर्षहरूजस्तै दसैँ–तिहार र छठजस्ता चाड सुरु हुनुुपूर्व खोलिने लामो दूरीको यातायातको अग्रिम टिकट बुकिङ यो वर्ष नखोलिने सम्भावना बढेको छ । शुक्रबार अग्रिम टिकट बुकिङको विषयमा भएको छलफलमा कुनै निर्णय नभएको यातायात व्यवस्था विभागका प्रवक्ता डा. लोकनाथ भुसालले जानकारी दिए । ‘सरोकारवालासँग बैठक बसे पनि कुनै निर्णय भएन,’ उनले भने, ‘अब अग्रिम टिकट बुकिङ हुने सम्भावना घट्दै गएको छ ।’ तर, असोज अन्तिममा एकपटक बस्ने गरी बैठक सकिएको छ । ‘त्यसवेलासम्म अवस्था सामान्यतर्फ जाने सम्भावना देखिएमा अग्रिम टिकट खोल्ने निर्णय हुन सक्छ,’ उनले भने ।

अर्कोतिर यातायात व्यवसायीले अग्रिम टिकट बुकिङ खोल्न आवश्यक नै नभएको बताएका छन् । अहिले नियमित चल्ने सवारीसाधनसमेत खाली–खाली रहेका कारण अग्रिम बुकिङको औचित्य नै नभएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए ।

अग्रिम टिकट खोल्नुअघि दुई सर्त पूरा हुनुपर्ने पनि व्यवसायीको माग छ । पहिलो अग्रिम टिकट काटेपछि निषेधाज्ञा भयो भने काटिएको टिकटको जिम्मा कसले लिने भन्नेमा व्यवसायीको चासो छ । त्यस्तो अवस्थामा काटिएका टिकटको जिम्मा सरकारले दिने ग्यारेन्टी गरेमा अग्रिम टिकट बुकिङ गर्न सकिने उनीहरूको भनाइ छ । त्यस्तै, हवाई उडानको जस्तै बसमा पनि शतप्रतिशत यात्रु बोक्न पाउने व्यवस्था हुनुपर्ने व्यवसायीको माग छ । यातायात मन्त्रालयले शतप्रतिशत यात्रु बोक्न पाउने व्यवस्थाका लागि सिसिएमसीमा प्रस्ताव लगे पनि अझै निर्णय भएको छैन ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले लामो र मध्यम दूरीको सार्वजनिक सवारीसाधनमा पूर्ण सिट क्षमतामा सञ्चालनका लागि गरेको प्रस्ताव झन्डै दुई हप्तादेखि रोकिएको छ । यातायात मन्त्रालयले चाँडो निर्णय गर्न चाहेको भए पनि स्वास्थ्य मन्त्रालयले रोकिदिएको बुझिएको छ । सिसिएमसीबाट पूर्ण क्षमतमा यात्रु बोक्न पाउने निर्णय भएको खण्डमा भाडादर भने पुरानो नै कायम गरिने यातायातमन्त्री वसन्तकुमार नेम्वाङले बताए ।नयाँ पत्रिका दैनिक

शीर्ष समाचार

धेरै पढिएको