
काठमाडौं, सिंहदरबार बाहिर पर्खालसँगै चारैतर्फ बिजुली र सोलारजडित गरी १ सय ६ वटा पोल गाडिएका छन् । त्यसमध्ये ३१ पोलमा बत्ती बल्छन्, ७५ पोलमा बल्दैनन्।
सिंहदरबारको भद्रकालीतर्फ फर्किएको मूल गेट आसपासमा ५ वटा पोल छन् तर मूल गेटका एउटै पोलमा बत्ती बल्दैनन्।
मूल गेटतर्फबाट पुतली सडकतर्फ १३ वटा पोल ठडिएका छन्, ती पोलमा बत्तीको उज्यालो देखिँदैन । मूल गेटतर्फबाटै सर्वोच्च अदालत हुँदै माइतीघरतर्फ जाँदा समेत सर्वोच्च अदालतअघि बाहेकका सात वटा पोलमा बत्ती बल्दैनन्।
माइतीघर तर्फबाट दक्षिण गेटतर्फका ११ पोलको हालत पनि उस्तै छ । दक्षिण गेटको मूल गेटमा मात्रै उज्यालो छ । सोही गेटबाट हनुमानस्थान तर्फका ६ वटा पोल र हनुमान स्थानबाट पूर्वी गेटतर्फका १२ पोलसहित त्यहाँबाट अनामनगरसम्मका ८ वटा पोलमा बत्ती छन् तर बल्दैनन् । अनामनगरदेखि पुतली सडकसम्मका १३ वटा पोलमा पनि बत्तीको उज्यालो देखिँदैन।
देशको मुख्य प्रशासनिक केन्द्रको मूल गेट र चारैतर्फका पर्खालअघिको यो हालत छ भने काठमाडौंका मुख्य सडक, भित्री सडक र देशका अन्य स्थानको अनुमान गर्नै पर्दैन।
सिंहदरबार आसपासको रात्रिकालीन अनुगमनपछि हामीले विद्युत् प्राधिकरण र काठमाडौं महानगरलाई सोध्यौं, ‘सिंहदरबार बाहिर सडकमा बिजुली बत्ती बाल्ने काम कसको?’
तर, दुवै निकाय जिम्मेवारीबाट पन्छिन खोजे । विद्युत् प्राधिकरणका प्रवक्ता मदन तिमल्सिनाले सडक बत्तीको काम महानगरको जिम्मेवारीभित्र पर्ने बताए। राजधानी दैनिक







