
काठमाडौं, राष्ट्रिय सभाका सदस्यका लागि मनोनीत भएका नेकपाका नेता वामदेव गौतमलाई थप जिम्मेवारी नदिने गरी भएको अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने भन्ने सम्बन्धमा भएको बहस बुधबार स्थगित भएको छ ।
सर्वोच्च अदालतमा न्यायाधीश, कर्मचारीलगायतलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएपछि सर्वोच्च अदालतमा अधिकांश इजलास गठन हुन सकेको छैन । सोही कारण संवैधानिक इजलास पनि बुधबार गठन हुन नसकेपछि नेता गौतमसँग सम्बन्धित विषयमा सुनुवाइ हुन नसकेको हो ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीशहरु दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा सम्मिलित संवैधानिक इजलासमा नेता गौतमलाई थप जिम्मेवारी दिने वा नदिने भन्ने सम्बन्धमा यसअघि दुई दिनसम्म बहस भएको थियो । कानुन व्यवसायी धेरै भएका कारण बहस सकिएको थिएन । बहस गर्ने क्रम बुधबारलाई राखिएको थियो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसबमोजिम गौतमलाई राष्ट्रिय सभाको सदस्यमा मनोनीत गरेपछि वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सो कार्यविरुद्ध रिट निवेदन दायर ।
सो रिट निवेदनको प्रारम्भिक सुनुवाइपछि न्यायाधीश डा. आनन्दमोहन भट्टराईको इजलासले गौतमलाई थप जिम्मेवारी नदिन अन्तरिम आदेश दिएको थियो । उक्त इजलासले सो आदेशलाई निरन्तरता दिने वा नदिने भन्ने सम्बन्धमा रिट निवेदनलाई संवैधानिक इजलासमा पठाएको थियो ।समाचारपत्र







