
काठमाडौं, कोरोना महामारीको कारण रोजगार, आम्दानी गुमाएसँगै निकै सास्ती खेप्दै आएको सर्वसाधारणलाई फेरि अर्को समस्या थपिएको छ । कोरोना सङ्क्रमणबाट जोगिन ताजा फलफूल तथा तरकारी खानुपर्छ तर तिनीहरुको मुल्य आकासियपछी दिनहुुँ तरकारी फलफूल खरिद गरेर खान कठिन भएको छ ।
हाल बजारमा अधिक तरकारीको मुल्य किलोको सय रुपैयाँ भन्दा माथी नै पुगेको छ ।bकोभिड–१९ का कारण पर्याप्त उत्पादन नहुँदा तरकारीको मूल्य एक महिनामै तीन सय प्रतिशतसम्म बढेको हो। वर्षा सकिएर हिउँदे तरकारी उत्पादन हुने सिजन सुरु भए पनि अधिकांश तरकारीको मूल्य बढेपछि उपभोक्ता चिन्तित छन् ।
कालीमाटी फलफूल तथा तरकारी बजार समितिका अनुसार गत भदौ २० गते २८ रुपैयाँ किलोमा बिक्री भएको घिरौंलाको मूल्य तीन सय १० प्रतिशत बढेर मंगलबार एक सय १५ रुपैयाँ किलो पुगेको छ। हरेक दिन भान्सामा प्रयोग हुने प्याजको भाउ ५१ रुपैयाँ किलोबाट बढेर एक सय १५ पुगेको छ भने आलुको मूल्य एक सय पाँच रुपैयाँ छ । काउली एक सय १५ रुपैयाँ किलो, रायो साग सय, बोडी एक सय १०, हरियो प्याज एक सय ५५, गान्टे मूला सय, घिउ सिमीको मूल्य एक सय १० र भिन्डीको एक सय पाँच रुपैयाँ छ ।
हरियो धनियाको मूल्य किलोको दुई सय २५, लसुन दुई सय ५५, हरियो खुर्सानी एक सय १५ रुपैयाँ किलो रहेको छ । खुर्सानीको भाउ एक सय नौ प्रतिशत, लसुनको भाउ एक सय चार प्रतिशत, धनियाको भाउ ५५ प्रतिशतले बढेको छ ।
तिते करेला ३३ रुपैयाँ किलोबाट एक सय ५८ प्रतिशत बढेर ८५ रुपैयाँ, लौकाको मूल्य ४२ बाट ६७, परवल ६८ बाट बढेर एक सय १५, गाजरको मूल्य ५२ बाट ९८ रुपैयाँ पुगेको कालीमाटी फलफूल तथा तरकारी बजार समितिले जनाएको छ । खुद्रा बजारमा पुग्दा तरकारीको मूल्य अझै धेरै पुग्छ ।नागरिक दैनिक







