
काठमाडौं, नेपाल बार एसोसिएसनको चैत ०७५ मा सम्पन्न निर्वाचनअघि अध्यक्षका प्रत्यासीद्वय चण्डेश्वर श्रेष्ठ र सुनीलकुमार पोखरेलले आ–आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरे । बार अध्यक्ष निर्वाचित श्रेष्ठले कार्यसमितिमा पनि आफ्नो सम्पत्ति विवरण पेस गरे । सार्वजनिक पदमा पुग्ने र पुग्न चाहनेहरू आर्थिक रूपमा पारदर्शी हुनुपर्ने सन्देश त उनीहरूले दिए नै, साथमा सम्पत्ति विवरण सार्वजनिक गर्न न्यायाधीशहरूमाथि नैतिक दबाब सिर्जना गर्ने प्रयास पनि गरे । तथापि, अझै न्यायाधीशहरूको सम्पत्ति सार्वजनिक हुन सुरु भएको छैन । सम्पत्ति गोप्य राखिने कानुनी व्यवस्थाको अड्चन यसमा देखिएको छ ।
प्रधानन्यायाधीश नियुक्त हुनुअघि संसदीय सुनुवाइमा चोलेन्द्रशमशेर राणाले न्यायालयमा सुशासन आफ्नो प्राथमिकतामा रहने बताएका थिए । अदालतमा हुने अनियमितता र भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउनुका साथै त्यसको छानबिनका लागि प्रभावकारी संयन्त्र बनाउने उनको कार्ययोजनामा उल्लेख थियो । राणाले न्यायालयको नेतृत्व सम्हालेको २० महिना बित्यो । तर, न्यायालयमा विकृति सुधारका लागि ठोस योजना अगाडि बढेको त छैन नै, सर्वाेच्च अदालतकै न्यायाधीशहरूको सम्पत्तिसमेत सार्वजनिक हुन थालेको छैन ।
नेपाल बारले हालै सबै न्यायाधीशको सम्पत्ति सार्वजनिक र छानबिन गर्ने कानुन ल्याउन माग गरेपछि न्यायालयमा पारदर्शिताको बहस फेरि सुरु भएको छ । बारका अध्यक्षसहितका पदाधिकारीले आफ्नो सम्पत्ति सार्वजनिक गरेर न्यायाधीशहरूमाथि दबाबसमेत सिर्जना गरेका छन् ।
न्यायाधीशको सम्पत्ति छानबिनको विषय पटक–पटक उठ्दै आएको छ । तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीले पदभार सम्हालेपछि ‘न्यायिक सुधारसम्बन्धी कार्ययोजना’ ल्याए । न्यायिक उत्तरदायित्व र सुशासन कायम गर्ने शीर्षकअन्तर्गत न्यायाधीशको सम्पत्ति विवरण शंकास्पद देखिए छानबिन गर्ने कार्ययोजनामा उल्लेख थियो ।नयाँ पत्रीका दैनिक







