
काठमाडौं, सरकारले असारदेखि यता संघीय संसद् सचिवालयमा कुनै पनि विधेयक दर्ता गरेको छैन। वैशाख महिनामा कुनै पनि विधेयक दर्ता भएका छैनन् भने जेठ र असारमा संसद्मा सरकारी र गैरसरकारी गरी १७ विधेयक दर्ता भएका छन्। जेठ र असारमा प्रतिनिधिसभामा ८ विधेयक दर्ता भएका छन् भने राष्ट्रियसभामा ९ वटा विधेयक दर्ता भएका हुन्।
‘संसद्मा विचाराधिन विधेयकको संख्या धेरै नै भएकाले हो वा अधिवेशन नभएर हो साउन, भदौ र असोजको मध्यसम्ममा कुनै पनि विधेयक दर्ता भएका छैनन्,’ संसद सचिवालयका एक अधिकारीले बताए। ‘विधेयक ल्याउने काम सरकारको हो सरकारले विधेयक नल्याउनुको कारण धेरै हुन सक्छन्,’ उनले भने। संसद्मा अहिले ५६ भन्दा बढी विधेयक विचाराधीन छन्।
‘संसद् अधिवेशन असार १८ गते अन्त्य भएपछि संसद्मा तीनवटा विधेयक मात्र आएका छन्। अधिवेशन अन्त्य भएको हप्तादिन पछि नै संसद्मा तीन विधेयक आएका हुन् त्यसपछि अहिलेसम्म कुनै विधेयक आएका छैनन्,’ संसद् सचिवालयले जनाएको छ। संसद् अधिवेशनअघि नै संसद्मा दर्ता भएका विधेयक पनि धेरैजसो संसद्मा प्रस्तुत हुन पाएका छैनन्।
प्रतिनिधिसभामा दर्ता भएका विधेयकमध्ये ४ विधेयक गैरसरकारी छन्। नेपालको संविधान संशोधन गर्न सरकारले विधेयक ल्याएपछि विभिन्न दलले संसद्मा दर्ता गरेका ४ वटा संविधान संशोधनसम्बन्धी गैरसरकारी विधेयक अघि बढेका छैनन्। सरकारले ल्याएको विधेयक पारित भई संविधानको अनुसूची ३ मा रहेको नेपालको निशानछापको नेपालको नक्सा परिवर्तन गरिसकिएको छ। तर दलहरुले विभिन्न विषय राखेर संविधान संशोधन विधेयक दर्ता गरेका थिए। उनीहरुले राखेका विषय दुईतिहाइले पारित हुने सम्भावना नभएपछि कुनै पनि विधेयक अघि बढेका छैनन्।नागरिक दैनिक







