April 22, 2021, Thursday
२०७८ बैशाख ९, बिहीबार

मिसन जान प्रहरीमा नयाँ मापदण्ड, कार्यक्षमता र ज्येष्ठतालाई प्राथमिकता

काठमाडौं, संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसन जान अब नेपाल प्रहरीका सबै जना कार्यक्षमता र ज्येष्ठताका आधारमा अनिवार्य रूपमा जान पाउने व्यवस्था गरिएको छ । प्रहरी प्रधान कार्यालयले संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसन ‘यूूएन फम्र्ड पुलिस युनिट’ (एफपीयूू)मा जाने प्रहरी कर्मचारी छनोट सम्बन्धी मापदण्ड, २०७७ मा यस्तो व्यवस्था गरिएको हो ।

नेपाल प्रहरीको एफपीयू मिसन छनोटमा पारदर्शिताको विषयमा प्रश्न उठेपछि प्रहरी नायव निरीक्षक (सईं) देखि प्रहरी नायव उपरीक्षक (डीएसपी) तह सम्मका प्रहरी अधिकृतका लागि यो मापदण्ड जारी गरिएको हो । यो मापदण्ड अनुसार नोकरी अवधिभर कुनै पनि एफपीयूू र इन्डिभिडिअल पुलिस अफिसर (आईपीओ)का रूपमा सहभागी नभएका प्रहरी अधिकृत कर्मचारी मात्र एफपीयूू छनोटमा सहभागी हुन पाउनेछन् । यसमा ज्येष्ठतालाई प्राथमिकता दिइएको छ ।

त्यस्तै एफपीयूू कन्टिनेन्टमा खटिने प्रशासन तर्फका प्रहरी नायव उपरीक्षक (डीएसपी)मध्ये एक जना यूूएन मिसनमा सहभागी भई स्वदेश फिर्ता भएको तीन वर्ष पूरा भएमा कार्यदक्षता र कार्यक्षमताका आधारमा र अर्को एक जना एक पटक पनि मिसन नगएका मध्येबाट ज्येष्ठताका आधारमा महानिरीक्षकबाट छनोट गरिनेछ ।

प्रशासन तर्फका छ प्रहरी निरीक्षकमध्ये एक जना शान्ति मिसनमा सहभागी भई स्वदेश फर्किएको कम्तीमा दुई वर्ष कार्यक्षमता तथा ज्येष्ठताका आधारमा महानिरीक्षकले छनोट गर्न सक्ने व्यवस्था गरिएको छ । बाँकी पाँच जनाको भने शान्ति मिसन सिफारिस समितिले निर्णय गर्ने अधिकार प्रदान गरिएको छ ।सभार गोरखापत्र

शीर्ष समाचार

धेरै पढिएको