April 18, 2021, Sunday
२०७८ बैशाख ५, आईतवार

अलमल्याउने र गलाउने देउवा–पौडेलको रणनीति

  • 9
    Shares

काठमाडौँ, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल पक्ष पार्टीको १४औं महाधिवेशन सुनिश्चित गर्नेभन्दा एकले अर्कोलाई अलमल्याउने र गलाउने रणनीतिमा सक्रिय भएका छन् । फागुनका लागि तोकिएको महाधिवेशन नहुने निश्चित भए पनि पार्टीको महाधिवेशन कसरी गराउने भन्दा दुवै समूह एकले अर्कालाई गलाउने र थकाउनेमा सक्रिय भएका हुन् ।

दुवै पक्ष फागुनमा महाधिवेशन हुँदैन भन्नेमा ढुक्क भए पनि त्यसको अपजस आफूमाथि लाग्ने भयले संस्थापन र इतर पक्ष अहिले पनि त्यसलाई पन्छाउने रणनीतिमा छन् । सोमबारदेखि सुरु हुने केन्द्रीय समितिको बैठकमा महाधिवेशन नयाँ मितिसहितको कार्यतालिका पेस हुने धेरैको अड्कल गरेका छन् । तर, संस्थापन पक्ष महाधिवेशनको नयाँ कार्यतालिका बैठकमा पेस गर्ने पक्षमा नरहेको स्रोतको दाबी छ । बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले महाधिवेशनको तयारीका विषयमा अहिलेसम्म भएका कामको जानकारी गराउने छन् । ‘संस्थापन पक्षबाट महाधिवेशनको नयाँ मितिसहितको कार्यतालिका आउँदैन,’ निकट एक नेताले भने,‘ नयाँ प्रस्ताव ल्याउने कि नल्याउने रामचन्द्र पौडेल समूहमा भर पर्दछ ।’

फागुन ७ देखि काठमाडौंमा गर्ने भनिएको महाधिवेशन नहुने पक्का भए पनि त्यसको अपजस् आफूमाथि नपरोस् भनेर दुवै समूह महाधिवेशन सार्ने प्रस्ताव अघि सार्ने पक्षमा छैनन् । केही दिनअघि सभापति देउवा र नेता पौडेललाई भेटेका कांग्रेस पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले पार्टीको १४औं महाधिवेशन फागुनमा हुनै नसक्ने दाबी गरे । महाधिवेशनको पूर्वाधारका रूपमा रहेको क्रियाशील सदस्यता वितरणको काम अहिलेसम्म नभएको र सदस्यता छानबिन समितिसमेत गठन हुन नसकेको बताउँदै सिटौलाले भने, ‘फागुनमा नहुने महाधिवेशन उहाँहरु (शेरबहादुर देउवा र रामचन्द्र पौडेल) दुवैजना किन हुन्छ भनिरहनु भएको छ मैले बुझेको छैन ।’ अहिलेदेखि नै लाग्दा वैशाख वा जेठसम्म महाधिवेशन गर्न सकिने बताउँदै उनले भने, ‘जे कुरा हुँदैन त्यसमा देउवा र पौडेलको सहमति देखिन्छ ।’

कांग्रेसको फागुनमा सकिनुपर्ने समायोज अहिलेसम्म सकिएको छैन भने संशोधित कार्यतालिकाअनुसार भदौभित्र सबै जिल्लाबाट क्रियाशील सदस्यता नवीकरण र वितरण गरेर केन्द्रमा आइपुगिसक्नुपर्ने हो । तर, अधिकांश जिल्ला सदस्यता वितरण नै सुरु भएको छैन भने त्यसको छानबिनका लागि समितिसमेत गठन भएको छैन । कांग्रेस महाधिवेशनका लागि सबैभन्दा पेचिलो विषय नै सदस्यता वितरण हो ।

संस्थापनइतर समूहले क्रियाशील सदस्यतासहित १४औं महाधिवेशन स्वच्छ, निष्पक्ष हुनेमा आशंका व्यक्त गर्दै केन्द्रीय कार्यालय सानेपामा विरोधपत्र दर्ता गराएका छन् । नेता पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंहसहितका २७ केन्द्रीय सदस्यको हस्ताक्षसहितको विरोधपत्र दर्ता गराउँदै आफ्ना माग पूरा नभए विरोधका कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेका छन् ।

पार्टी लोकतन्त्रबाट च्यूत गराएर सभापतिले भीडतन्त्रमा प्रवेश गराउँदा महाधिवेशनको पूर्वसन्ध्यामा संगठनमा एकता र विश्वास खलबलिन पुगेको उल्लेख गरेका छन् । त्यसका बदला अविश्वास, अनेकता र आशंकाको बादल मडारिएर संस्थापन र इतरपक्षका नाममा ध्रुवीकरणको स्थिति निम्तिएको जनाउँदै लोकतान्त्रिक प्रणाली र राष्ट्रप्रतिको जिम्मेदारी छायाँमा पर्ने अवस्था आउँदा पनि पार्टीले सरकारका कदमकाविरुद्ध खबरदारी गर्न नसकको उल्लेख गरेका छन् । सभापति देउवाको कमजोरीलाई तलसम्म लगेर संस्थापन इतर समूह आगामी महाधिवेशनबाट पार्टी नेतृत्वमा पुग्ने रणनीतिमा पुगेका छन् । देउवालाई गलाउन उनीहरुको रणनीति देखिन्छ ।नागरिक दैनिक

शीर्ष समाचार

धेरै पढिएको