प्रदेश २ मा पीसीआर खरिदमा भ्रष्टाचार
जनकपुरधाम, कोरोना भाइरस संक्रमण नियन्त्रण, रोकथाम तथा व्यवस्थापनका निमित्त महँगोमा स्वास्थ्य सामग्री खरिद गरी अनियमितता गरेको पाइएको छ । सप्तरीको राजविराज, धनुषाको जनकपुर र रौतहटको गौरमा कोरोना परीक्षणका लागि ‘रियल टाइम’ पीसीआर मेसिनसहित विभिन्न १४ थान उपकरण खरिदमा करोडौं भ्रष्टाचार भएको पाइएको हो ।
प्रदेश २ सामाजिक विकास मन्त्रालयले प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत आरडीटी–पीसीआरसँग सम्बन्धित उपकरण खरिदमा बजार मूल्यभन्दा धेरै २ करोड ८२ लाख १६ हजार १ सय रुपैयाँमा खरिद गरेको छ । तर, सोही मेसिन र उपकरण २ करोड ६९ लाख ९५ हजार ७ सय रुपैयाँमा उपलब्ध गराउन तयार फर्मको बोलपत्र रद्द गरिएको छ । खरिद प्रतिस्पर्धामा सहभागी भएका फर्ममध्ये सस्तोमा दिनेबाट खरिद नगरी महँगो दर रेटमा खरिद गरेर करोडौं भ्रष्टाचार गरेको पाइएको छ ।
पीसीआर परीक्षणमा प्रयोग हुने १४ सामग्रीसहितका उपकरण सरकारले २ करोड ४९ लाख ७० हजार रुपैयाँमा किनेको छ । जसमा ३२ लाख ४६ हजार १ सय रुपैयाँ भ्याटसमेत जोडेर पूरै लागत २ करोड ८२ लाख १६ हजार १ सय रुपैयाँ पर्न गएको छ । तर, उल्लेखित सबै सामग्री राइनले कुल २ करोड ६९ लाख ९५ हजार ७ सय रुपैयाँमा उपलब्ध गराउन प्रस्ताव गरेको भए पनि उनको बोलपत्र रद्द गरिएको छ ।
प्रतिकृया दिनुहोस्