
काठमाडौं, मन्त्रिपरिषद् पुनर्गठन गर्न सत्तारूढ दल नेकपाका दुई अध्यक्ष लगातार छलफलमा बसे पनि मापदण्डको टुंगो लागेको छैन । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बिहीबारयता भेटवार्ता भइरहे पनि कस्तो मापदण्ड अपनाउने भनेर निष्कर्षमा नपुगेको नेताहरूको भनाइ छ । त्यही कारण मंगलबार पनि सहमति जुट्न सकेन ।
ओली पक्षका एक स्थायी समिति सदस्यले दिनहुँको छलफल सकारात्मक भए पनि परिणाम भने शून्यको अवस्थामा रहेको बताए । प्रधानमन्त्री ओलीले रिक्त रहेका र टुक्र्याइने तीन मन्त्रालयमा मात्र नयाँ मन्त्री नियुक्त गरेर जाने विधिको कुरा गरिरहेका छन् । अर्का अध्यक्ष दाहालले भने केही अपवादका बाहेक व्यापकतामा मन्त्रीहरूको पुनर्गठनको प्रस्ताव राखेका छन् । ‘समग्रमा गर्ने कि अलिकति भन्नेमा दुई अध्यक्षबीच कुराकानी भइरहेको छ । प्रधानमन्त्री अलिकति गरौं भन्नुहुन्छ, प्रचण्ड (दाहाल) ले समग्रमा गरौं भनिरहनुभएको छ’, सचिवालयका एक सदस्यले भने, ‘केही मिलेको छैन । त्यसमै दिनहुँ छलफल जारी छ ।’
उपाध्यक्ष वामदेव गौतमलाई सरकारमा सहभागी गराउने÷नगराउनेमा देखिएको मतभेदले पनि सहमति जुट्न सकिरहेको छैन । उपाध्यक्ष गौतमका सन्दर्भमा मन्त्री बन्न पाउने÷नपाउने संवैधानिक प्रश्न सर्वोच्च अदालतमा उठेको छ। गौतमको मुद्दामा दुवै पक्षलाई सर्वाेच्चले छलफलका लागि आज (बुधबार) बोलाएको छ ।
दाहाल गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठलाई सरकारमा सहभागी गराउन चाहन्छन् । वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल पनि दाहालकै पक्षमा उभिएका छन् । ओलीले भने सरकारको नेतृत्व आफूले गर्ने भएकाले सहयोगी हुने नेतालाई सरकारमा लान र राख्न पाउनुपर्ने बताएको स्रोतले जनाएको छ ।अन्नपूर्ण पाेष्ट







