
खोटाङ, महालेखा परीक्षकको टोलीले खोटाङका १० स्थानीय तहमध्ये नौ स्थानीय तहको लेखापरीक्षण सम्पन्न गरेको छ ।
गत मङ्सिर तेस्रो साता खोटाङ आएको महालेखा परीक्षकको टोलीले दुई नगरपालिका र सात गाउँपालिकाले आर्थिक वर्ष २०७६/७७ मा गरेका आर्थिक गतिविधिको लेखापरीक्षण सम्पन्न गरेको हो ।
करीब दुई महिनाअघि खोटाङ आएको महालेखा परीक्षकको टोलीले दिक्तेल रुपाकोट मझुवागढी र हलेसी तुवाचुङ नगरपालिका तथा ऐँसेलुखर्क, रावाबेँसी, केपिलासगढी, दिप्रुङ चुइचुम्मा, साकेला, बराहपोखरी र जन्तेढुङ्गा गाउँपालिकाको लेखापरीक्षण सम्पन्न गरिएको लेखापरीक्षण अधिकारी किशोर पोखरेलले बताएका छन् ।
लेखापरीक्षण सकिएको स्थानीय तहको प्रारम्भिक लेखापरीक्षण प्रतिवेदन भने आउन बाँकी रहेको लेखापरीक्षण अधिकारी पोखरेलले जानकारी दिनुभयो । अब खोटेहाङ गाउँपालिकाको लेखापरीक्षण गर्न बाँकी रहेको छ ।
शुरुमा एँेसेलुखर्क गाउँपालिकाको लेखापरीक्षण दिक्तेल बजारस्थित कोष तथा लेखा नियन्त्रकको कार्यालयमा बसेर गर्न थालेपछि आलोचित भएको महालेखा परीक्षकको टोलीले सम्बन्धित स्थानीय तहमा पुगेर लेखापरीक्षण शुरु गरेको थियो ।
गत वर्ष महालेखा परीक्षकको कार्यालयका निर्देशक घनश्याम अधिकारी नेतृत्वको तीन टोलीले ४६ दिन लगाएर सङ्घ, प्रदेश र स्थानीय तह, सङ्गठित संस्था तथा समितिको लेखापरीक्षण गरेको थियो ।
दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा गत वर्ष सबैभन्दा बढी हलेसी तुवाचुुङ नगरपालिकामा बेरुजु देखिएको थियो ।







