
किन्शासा, प्रजातान्त्रिक गणतन्त्र कङ्गोकोे पूर्वी क्षेत्रमा रहेको एउटा सुन खानीमा पहिरो जाँदा कम्तीमा ५० व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीले शनिबार बताएका छन् ।
धेरै दिनको भारी वर्षापछि पहिरोको कारण दक्षिण किवु प्रान्तको कमितुगा सहरमा शुक्रबार भएको उक्त घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।
प्रान्तीय गभर्नर थेओ एनग्वाबिड्जे कासीले शनिबार बिहान एक विज्ञप्तिमार्फत् घटनाको पुष्टि गर्नुभयो । उहाँले भन्नुभयो, “पीडितहरूमध्ये केही बालबालिकासहित अधिकांश युवाहरु रहेका छन् ।” प्रान्तीय प्रशासक कासीले भन्नुभयोे, “उद्धारकर्ताहरूले मृतकको पहिचान गर्न र खानीबाट शवहरू बाहिर निकाल्न निरन्तर खटिरहेका छन् ।
स्थानीय सञ्चारमाध्यमहरूले घटनामा बच्न सफल स्थानीयलाई उद्धृत गर्दै लेखेका छन्, “खानीका लागि खनिएका तीन वटा गहिरा खाडलमा पानी पसेका कारण पहिरो जाँदा उनीहरूको मृत्यु भएको हो ।”






