
वासिङ्टन, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तान सरकार र त्यहाँको मुख्य विद्रोही समूह तालिबानसँग हुन गइरहेको शान्ति वार्ताका लागि अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ कतारको दोहा जाने बताएका छन ।
सो कुराको जानकारी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिनुभएको हो । उनले स्थानीय समयानुसार बिहीबार बिहान अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिएका हुन ।
राष्ट्रपति ट्रम्पले भनेका थिए– म यहाँहरुलाई यो जानकारी गराउन चाहन्छु कि कतारको राजधानी दोहामा हुन लागेको अफगान सरकार र तालिबानबीचको शान्ति वार्ताका लागि आजै साँझ विदेशमन्त्री पोम्पेओ त्यसतर्फ जाँदै हुनुहुन्छ ।
त्यस पत्रकार सम्मेलनका क्रममा राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले अफगानिस्तानमा अमेरिकी सेनाको संख्या कटौती गरेर ४ हजारमा ल्याउने योजना पनि सुनाए ।
अफगानिस्तानमा विगत लामो समयदेखि सशस्त्र रुपमा हिंसा गरिरहेको मुख्य विद्रोही समूह तालिबानसँग अफगान सरकारले शान्ति वार्ता गर्ने भएको समाचार यसअघि नै आएको थियो । तालिबान समूहले पनि एक उच्चस्तरीय प्रतिनिधिमण्डल अफगान सरकारसँग वार्ताका लागि कतारको दोहा पठाएको जानाएको थियो । एजेन्सी







