
क्यालिफोर्निया, उत्तरी क्यालिफोर्नियाको जंगलमा सल्किएको डढेलोमा परेर बुधबार तीन व्यक्तिको मृत्यु भएको छ । अग्नि नियन्त्रकहरुका अनुसार तिब्र गतिका साथ फैलिएको डढेलोका कारण वन छेउमा घरबास हुने हजारौं व्यक्ति आआफ्ना घर छाड्न बाध्य भएका छन् । पहाडी इलाकाको वन डढेलो फैलिएर घरबस्ती भएको तल्लो समथर भूभागमा आइपुगेको अधिकारीहरुले बताएका छन् ।
क्यालिफोर्नियाको राजमार्ग गस्ती प्रहरी बेन ड्रापरका अनुसार एक व्यक्ति कारभित्र घाइते अवस्थामा भेटिएका थिए । सान फ्रान्सिस्कोको उत्तरपूर्वी क्षेत्रमा सयौं, हजारौं घर डढेलोको चपेटामा आएको र अधिकांश ती घरमा क्षति पुगेको अग्निनियन्त्रकहरुले बताएका छन् । उक्त आगोले प्याराडाइज क्षेत्रमा पनि विनाश निम्त्याउने खतरा बढाएको छ ।
यो क्षेत्र गत वर्षको विनाशकारी वनडढेलोबाट पनि क्षतिग्रस्त भएको थियो । सुख्खा मौसमका कारण वनडढेलो तिब्र रुपमा फैलिएको छ । मौसम पूर्वानुमान अधिकारीहरुका अनुसार केही दिनभित्र मौसममा सामान्य सुधार आउने छ । यसबाट अग्निनियन्त्रकहरुले सन्तोषको केही सास फेर्न पाउने अपेक्षा गरिएको छ । एजेन्सी







