
टोकियो, कोरोना भाइरसको कारणले आम्दानी घटेका घरपरिवारलाई सरकारले दिंदै आएको बिना ब्याज ऋण सुविधाको दुरुपयोग गरेको आरोपमा टोकियोमा २ नेपालीहरु पक्राउ परेका छन् ।
उनिहरुले फर्जी विवरण बुझाई ४ लाख येन लिएको खुल्न आएको छ । यसरी पक्राउ पर्नेहरुमा रेष्टुरेन्ट संचालक ३४ वर्षिय चुडामणी काफ्ले तथा अर्का एकजना रेस्टुरेन्टका कर्मचारी ४४ वर्षिय शिव प्रसाद रेग्मी रहेका छन् ।
ति दुई नेपालीहरुलाई आप्रवासन र शरणार्थी कानूनको उल्लघंन अन्तर्गत छानबीन गरिदैँ छ । आप्रवासन र शरणार्थी कानूनको उल्लघंन गरेको अनुसन्धानको क्रममा आरोपित उनीहरुले नक्कली कागजात तयार पारि जापान सरकारले साना तथा मझौला व्यवसायहरुलाई दिएको २० लाख येन अनुदान पनि लिएका हुनसक्ने आशंकामा थप अनुसन्धान भइरहेको जापानी संचार माध्यमहरुले जनाएका छन् ।
उनिहरुलाई सिन्जुकु वार्डमा रहेको सामाजिक कल्याण परिषदको कार्यलयमा फारम बुझाउने क्रममा पक्राउ गरिएको बुझिएको छ । स्मरण रहोस् केहिदिन अघि मात्रै नक्कली बाउ-छोरी बनेर जापान आएको आरोपमा ईबाराकी केनमा २ जना नेपाली पक्राउ परेका थिए ।







