
इस्लामाबाद, अफगानिस्तानको मुख्य विद्रोही समूह तालिबानको एक उच्चस्तरीय प्रतिनिधिमण्डल अफगान सरकारसँग वार्ताका लागि कतारको दोहा पुगको छ ।
नाम बताउन नचाहने एक तालिबान नेताका अनुसार तालिबान र अफगान सरकारबीच अफगानिस्तानमा दिगो शान्ति पहिल्याउन वार्ता केन्द्रित हुनेछ । गत फेब्रुअरीमा तालिबान र संयुक्तराज्य अमेरिकाबीच दोहामा भएको सम्झौता पछि अफगान सरकार र तालिबान समूहबीच वार्ता शुरु हुन लागेको हो । तर सम्झौतामा तोकिएको मितिभन्दा ढिलो गरी दुबै पक्षबीच वार्ता हुन लागेको हो ।
शनिबार अफगानिस्तानको राष्ट्रिय मेलमिलाप परिषदका प्रवक्ता फराइदून ख्वाजूनले ट्वीट गर्दै अफगान सरकार तालिबानसँग प्रत्यक्ष वार्ता गर्न तयार रहेको बताएका छन । शनिबार नै राति ट्वीट गर्दै तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले तालिबानको वार्ता टोलीमा फेरबदल गरिएको बताए । तालिबानका मुख्य न्यायाधीश अब्दुल हकिमलाई वार्ता टोलीको प्रमुखमा नियुक्त गरिएको प्रवक्ताले बताएका छन । एजेन्सी







