पाकिस्तानले राति पूरै पश्चिमी सीमामा हमला गरेको भारतको आरोप

भारत-प्रशासित कश्मीरमा रहेका आफ्ना तीन सैन्य अखडामा क्षेप्यास्त्र तथा ड्रोन हमला गरिएको आरोप भारतीय सेनाले लगाएको छ। तर पाकिस्तानले त्यसको खण्डन गरेको छ।
भारतीय सेनाको अतिरिक्त लोक सूचना महानिदेशालय (एडीजी पीआई)का अनुसार पाकिस्तानी सेनाले मे ८ को मध्यरातपछि पश्चिमी सीमामा गरेको थियो। जम्मू तथा उधमपुर अनि पन्जाब राज्यको पठानकोटमा रहेका भारतीय सैन्य शिविरमा पाकिस्तानले गरेको हमलाको यत्नलाई विफल बनाइएको दाबी पनि भारतीय सेनाले गरेको छ।
“पाकिस्तानी सशस्त्र फौजहरूले ८ र ९ मे २०२५ को आधा राति पूरै पश्चिमी सीमामा ड्रोन र अन्य अस्त्र प्रयोग गर्दै हमला गरे। पाकिस्तानी सैनिकहरूले जम्मू तथा कश्मीरमा नियन्त्रण रेखामा कैयौँ पटक युद्धविराम पनि उल्लङ्घन गरे,” भारतीय सेनाले सामाजिक सञ्जाल ‘एक्स’ मा एउटा भिडिओ शेअर गर्दै लेखेको थियो।
पाकिस्तानका रक्षामन्त्रीले बीबीसीसँग कुरा गर्दै ती हमलामा आफूहरू जिम्मेवार नभएको बताएका हुन्।
“हामी त्यसलाई अस्वीकार गर्छौँ। हामीले यतिन्जेल केही आक्रमण गरेका छैनौँ,” रक्षामन्त्री खवाजा आसिफले भने। “हामी आक्रमण गर्ने अनि त्यो अस्वीकार गर्ने गर्दैनौँ।”
बिहीवार साँझ जम्मू नगरमा विस्फोटनका विवरण आएका थिए। त्यतिखेर त्यहाँ बिजुली थिएन।
आक्रमण र प्रत्याक्रमणको शृङ्खला
कराचीनजिकै सन्दिग्ध ड्रोन विस्फोट भएको स्थानतस्बिर स्रोत,EPA
तस्बिरको क्याप्शन,सन्दिग्ध भारतीय ड्रोन हमला भएको कराचीनजिकैको स्थल निरीक्षण गर्दै पाकिस्तानी सुरक्षाकर्मी
यसअघि भारतले बिहीवार पाकिस्तानका हवाई प्रतिरक्षा प्रणालीमा हमला गरेर नष्ट गरिदिएको बताएको छ।
इस्लामाबादले बुधवार राति भारतका सैन्य स्थलमा प्रहार गर्न खोजेकाले उक्त कारबाही गरिएको भारतले भनेको छ।
बुधवार आफ्ना क्षेत्रमा भारतले क्षेप्यास्त्र प्रहार गरेपछि दिल्लीले थप “आक्रमणकारी कार्य” गरेको पाकिस्तानले भनेको छ।
पाकिस्तानी सेनाका प्रवक्ताले भारतले प्रहार गरेका ड्रोनलाई ठाउँठाउँमा निस्तेज पारिएको बताए।
“गत राति भारतले थप आक्रमणकारी कार्य गर्दै विभिन्न ठाउँमा ड्रोन पठायो,” लेफ्टिनन्ट जेनरल अहमद शरिफ चौधरीले भने। “ती ठाउँहरू लाहोर, गुजरानवाला, चकवाल, रावलपिन्डी, अटक, बहावलपुर, मियानो, चोर अनि कराचीनजिक थिए।”
प्रतिकृया दिनुहोस्