क्यानडा र भारतबीच कूटनीतिक तनाव पैदा गरिदिने ३२ वर्षीय बिश्नोईको अपराध यात्रा

क्यानडाको रोयल माउन्टेड प्रहरीले केही दिनअघि पत्रकार सम्मेलन गर्दै लरेन्स बिश्नोई नेतृत्वको संगठित समूहले क्यानडामा दक्षिण एशियाली मूलका व्यक्ति र खालिस्तान समर्थकलाई लक्षित गर्दै आक्रमण गरिरहेको दाबी गर्यो । क्यानडा र भारतबीचको कूटनीतिक तनावलाई थप पेचिलो बनाउने गरी भारतदेखि क्यानडासम्म आपराधिक संगठन बनाएर क्रियाकलाप गर्ने खतरनाक अपराधीको नाम अहिले पुनः फेरि चर्चामा आएको छ ।
बिश्नोई लामो समयदेखि जेलमा छन् तर उनको समूहले अझै भारत र क्यानडालगायत अन्य देशमा अपराध कर्म गरिरहेको छ ।उनी पछिल्लो डेढ वर्षदेखि गुजरातको साबरमती जेलमा बन्द छन् र यतिबेला उनको नाम मुम्बईमा भएको एनसीपी नेता बाबा सिद्दिकीको हत्यामा जोडिएको छ । मुम्बई प्रहरीले यसको आधिकारिक पुष्टि गरेको छैन तर प्रारम्भिक अनुसन्धानका क्रममा सुई उनकै समूहतर्फ सोझिएको छ ।
बिश्नोईको नाम सार्वजनिक चर्चामा पहिलोपटक सन् २०२२ मा आएको थियो । त्यसपछि उनीमाथि थप अन्तर्राष्ट्रिय ध्यानाकर्षण भएको थियो ।उनीमाथि त्यतिबेला पञ्जाबी गायक सिद्धू मूसेवालाको हत्या गरेको आरोप लाग्यो । त्यसपछि उनलाई भारतमा मात्र नभएर अन्तर्राष्ट्रिय अपराध नेटवर्कको नेतृत्वकर्ताका रूपमा हेर्न थालिएको छ ।
बिश्नोईको अपराध यात्रा
बिश्नोई मूल रूपमा पञ्जाबको फाजिल्काको अबोहर गाउँका बासिन्दा हुन् । ३२ वर्षीय बिश्नोईको आपराधिक जीवनको शुरूआत चण्डीगढको डीएभी कलेजमा अध्ययनका क्रममा भएको हो ।
त्यहाँ उनी विद्यार्थी राजनीति गर्दागर्दै अपराधको दुनियाँमा प्रवेश गरेका थिए । उनी पहिलोपटक सन् २०१४ मा जेल परेका थिए । त्यसयता उनी पटक-पटक गरी लामो समय जेलभित्रै छन्, तर जेलभित्रैबाट उनले आफ्नो अपराध नेटवर्क चलाएका छन् ।
बिश्नोईमाथि हत्या, हत्या प्रयास, फिरौती, धम्की र लागुऔषध तस्करीका मुद्दाहरू रहेका छन् । भारतीय प्रहरीका अनुसार बिश्नोईसँग लगभग ७ सय शूटर छन्, तिनीहरूले भारतका विभिन्न राज्य र अन्य देशमा पनि आपराधिक गतिविधि गरिरहेका छन् ।
जेलमा रहँदा पनि सक्रिय
बिश्नोई पछिल्लो समय गुजरातको साबरमती जेलमा बन्द छन् । उनी जेलभित्रै रहेका बेला पनि ड्रग्स तस्करी र ठूला अपराधमा संलग्न रहेको भारतीय प्रहरीले दाबी गरेको छ । २०२२ को सेप्टेम्बरमा गुजरातको कच्छ क्षेत्रमा गरिएको अपरेसनमा ४० किलो हेरोइन बरामद भएपछि बिश्नोईको संलग्नता पुष्टि भएको थियो ।
क्यानडामा रहेका बिश्नोईका निकट सहयोगी गोल्डी बरारले उनको आपराधिक समूहको गतिविधिलाई क्यानडाबाट सञ्चालन गरिरहेका छन् । यसै समूहले क्यानडामा सिद्धू मूसेवालाको हत्या गरेको जिम्मेवारी लिएको थियो ।
राजनीतिक विवादमा बिश्नोईको भूमिका
क्यानडाका अधिकारीहरूले भारतीय एजेन्टले बिश्नोई समूहको सहायतामा खालिस्तान समर्थकहरूलाई लक्षित गरेको दाबी गरेपछि यो मुद्दा थप पेचिलो बनेको छ ।
तृणमूल कांग्रेस सांसद साकेत गोखलेले यो प्रकरणमा केन्द्र सरकारको भूमिका स्पष्ट गर्नुपर्ने बताएका छन् । उनले गुजरातको जेलमा रहेको बिश्नोईको शक्ति र प्रभावको प्रश्न उठाउँदै यसबारे सरकारको जवाफ मागेका छन् ।
अहिले मुम्बई पुलिसले बिश्नोईलाई हिरासतमा लिएर सोधपुछ गर्न खोजिरहेको भए पनि केन्द्र सरकारको आदेशका कारण उनलाई साबरमती जेलबाट बाहिर लैजान रोक लगाइएको छ ।
बिश्नोईले २०१८ मा बलिउड अभिनेता सलमान खानलाई मार्ने धम्की दिएका थिए । सलमानलाई कालो हरिण सिकार प्रकरणमा बिश्नोईले दुश्मनीको कारण बताएर खुलेआम मार्ने धम्की दिएका थिए । त्यसयता बिश्नोईको अपराध नेटवर्क विस्तार हुँदै अन्तर्राष्ट्रिय स्तरमा समेत फैलिएको छ ।
प्रतिकृया दिनुहोस्