अफगानिस्तानमा महिलाहरूमाथि विभिन्न प्रकारका हिंसा ८०० महिला अफगानी कारागारमा

Afghan burqa-clad women hold placards as they protest for their right to education, in Mazar-i-Sharif on August 12, 2023. (Photo by Atef Aryan / AFP)

काबुल – अफगानिस्तानमा तालिबानद्वारा महिलाहरूमाथि विभिन्न प्रकारका हिंसा तथा अत्याचार, आधारभूत अधिकारको दमनसहित कम्तीमा ८०० महिलालाई अफगानी कारागारमा राखेको टोलो न्युजले जनाएको छ ।

कारागार प्रशासन कार्यालयका उपप्रमुखका अनुसार अफगानिस्तानका कारागारहरूमा हाल आठ सय महिलासहित करिब १९ हजार कैदी छन् । फरक–फरक सजाय भोगिरहेका कैदीमध्ये धेरैमाथि अनुसन्धान भइरहेको छ ।

अफगानिस्तानको केन्द्रीय कारागार प्रशासनका उपप्रमुख हबिबुल्लाह बदरले अफगानिस्तानमा अनधिकृत कारागारहरू नभएको राष्ट्रिय टिभी नेटवर्क आरटीएसँगको अन्तर्वार्तामा बताउनुभयो ।

उहाँले जेलमा कैदीहरूलाई ‘यातना’ दिइने आरोपको खण्डन गर्नुभएको छ । टोलो न्युजका अनुसार त्यहाँ कुनै यातना वा अन्य प्रकारका दुर्व्यवहार नभएको दाबी गर्नुभयो ।

केही सैन्य र राजनीतिक विज्ञहरूले तालिबानलाई यस बिचमा बन्दीहरूलाई शैक्षिक निर्देशनहरू उपलब्ध गराउन सुरु गर्न आह्वान गरेका छन् ।

राजनीतिक विश्लेषक जाहोरोल्लाह जाहिरले बन्दीहरूका लागि शिक्षा धेरै महत्त्वपूर्ण भएको बताउँदै उनीहरूलाई विभिन्न सीप पनि उपलब्ध गराउनुपर्ने बताएको टोलो न्युजले उल्लेख गरेको छ ।

तालिबानले सन् २०२१ को अगस्टमा सत्ता कब्जा गरेपछि महिला अधिकारको हनन नगरिने प्रतिबद्धताको बाबजुद, उच्च शिक्षामा प्रतिबन्ध लगाउनु र समाजमा महिलाको भूमिका सीमित गर्न तालिबान प्रशासनले लिएको गैर–जिम्मेवारीपूर्ण कदम हो ।

अगस्ट २०२१ पछि तालिबान प्रशासनले छ कक्षाभन्दा माथिका छात्राहरूलाई विद्यालयमा जान प्रतिबन्ध लगाई महिलाहरूलाई पुरुष संरक्षकसँग मात्र यात्रा गर्नुपर्ने कडा नियम लगाएको छ ।

तालिबानहरूले सौन्दर्य सैलुनहरू बन्द गरे र महिलाहरूलाई घरेलु र अन्तर्राष्ट्रिय गैर–सरकारी सहायता समूहहरूसँग काम गर्नबाट रोक लगाए । पछिल्लो समय यस विषयमा अन्तर्राष्ट्रिय समुदायको असन्तुष्टि उत्पन्न भएको छ । file photo