नाइजरमा सैन्य कु- सैनिकहरुले आफ्नो सैन्य विद्रोह सफल भएको घोषणा गरे
अफ्रिकी मुलुक नाइजरमा सैन्य कु भएको छ । नाइजरको राष्ट्रिय टेलिभिजनबाट सैनिकहरुले आफ्नो सैन्य विद्रोह सफल भएको घोषणा गरेका हुन् ।
उनीहरुले सोही घोषणा मार्फत् संविधान विघटन गरेको जनाएका छन् । साथै संविधान अनुरुप निर्माण भएका सबै संस्था निलम्बन गर्नुका साथै पश्चिम अफ्रिकी मुलुकको सिमाना बन्द गरेको जनाएका छन् ।
नाइजरका राष्ट्रपति मोहम्मद बाजुमलाई सेनाले नियन्त्रणमा लिएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले राष्ट्रपति बाजुमलाई टेलिफोन गरेर उहाँ प्रति वासिङ्टनको विश्वास कायमै रहेको प्रतिवद्धता जनाउनु भएको छ ।
यसैगरी संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरसले पनि राष्ट्रपति बाजुमसँग कुराकानी गरेको र पूर्ण सहयोगको प्रतिवद्धता व्यक्त गरेको बताउनु भएको छ । बाजुम पश्चिम अफ्रिकामा इस्लामवादी आतंकवाद विरुद्धको लडाईमा प्रमुख पश्चिमी सहयोगी हुनुहुन्छ ।
नाइजरको राष्ट्रिय टेलिभिजनमा सेनाका कर्णेल मेजर अमाडो अब्द्रामाने नेतृत्वको टोलीले मुलुकको सुरक्षा स्थिति कमजोर भएको र आर्थिक तथा सामाजिक सुशासन कायम गर्नका लागि हालको शासन व्यवस्थाको अन्त्य गरेको घोषणा गरेका छन् ।
प्रतिकृया दिनुहोस्