November 28, 2023, Tuesday
२०८० मंसिर १३, बुधबार

प्रतिबन्धित ‘क्लस्टर बम’ युक्रेनमा आपूर्ति गर्दै अमेरिका

अमेरिकी राष्ट्रपति जो बाइडनले, सर्वसाधारणको ज्यान लिएको इतिहास भएको क्लस्टर बमहरू युक्रेनलाई उपलब्ध गराउने आफ्नो “निकै कठिन निर्णय”को बचाउ गरेका छन्।

यसअघि अमेरिकाले विवादास्पद क्लस्टर बमहरू आपूर्तिका लागि युक्रेनले गरेको आग्रह स्वीकार गरेको विवरणहरू सार्वजनिक भएका थिए।

विमानबाट खसालिने वा जमिनबाटै प्रक्षेपण गर्न सकिने यो अस्त्रबाट साना बमहरू निस्किन्छन्।

राष्ट्रपतिले “यस्तो निर्णय गर्न तयार हुन आफूलाई केही समय लागेको” बताए। यद्यपि “युक्रेनीहरूसँग अस्त्र कम हुँदै गएकाले” आफूले त्यस्तो कदम चालेको उनले जानकारी दिएका छन्।

युक्रेनका नेताले “समयमै” लिइएको यस कदमको प्रशंसा गरे भने मस्कोका कूटनीतिज्ञले वाशिङ्गटनको “निन्दनीय कार्य”को आलोचना गरेका छन्।

क्लस्टर बमहरू माथि १२० भन्दा बढी देशहरूले प्रतिबन्ध लगाएका छन्। बाइडनले शुक्रवार सीएनएनसँगको एक अन्तर्वार्तामा यस निर्णयबारे आफूले सहयोगी राष्ट्रसँग छलफल गरेको बताए।लिथुआनिआमा आगामी साता हुने नेटो सम्मेलनभन्दा ठीक अघि उक्त निर्णय सार्वजनिक भएको थियो।

राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले शुक्रवारको ह्वाइट हाउसको नियमित सम्बोधनमार्फत् अधिकारीहरूले विस्फोट नभएका क्लस्टर अस्त्रहरूबाट “सर्वसाधारणलाई पर्न सक्ने जोखिमको” पहिचान गरेको बताए।”त्यसैले लामो समयका लागि हामीले यस निर्णयलाई स्थगित गरिरह्यौँ।”

सुलिभानले युक्रेनमा तोपलगायत अस्त्रहरू सकिएको र अमेरिकाले अस्त्रहरूको उत्पादनमा जोड दिएको अवस्थामा “आपूर्ति बढाउनु पर्ने” मत राखे।

“यस द्वन्द्वकालको कुनै पनि घडीमा हामीले युक्रेनलाई प्रतिरक्षाविहीन अवस्थामा छोड्ने छैनौँ,” उनले भने।

उक्त अस्त्रको प्रभावकारितालाई लिएर थुप्रै विवाद सिर्जना भएका छन्। विस्फोट नभएका साना बमहरू वर्षौँसम्म जमिनको सतहमा रहन सक्छन् र एक्कासि विस्फोट हुन सक्छन्।

पत्रकारहरूसँग कुरा गर्दै सुलिभानले युक्रेनमा पठाउन लागिएको अमेरिकी क्लस्टर बमहरू जारी द्वन्द्वमा रुसले प्रयोग गर्दै आएको बमहरूको तुलनामा कयौँ गुना सुरक्षित रहेको बताए।

उनले अमेरिकी बमहरूको विस्फोट नहुने दर २.५ प्रतिशत रहेको तर रुसले प्रयोग गरिरहेका बमहरूको असफलताको दर ३० देखि ४० प्रतिशत रहेको दाबी गरे।

बाइडनको यस निर्णयले एक प्रतिशतभन्दा बढी असफलता दर भएका क्लस्टर अस्त्रहरूको उत्पादन, प्रयोग वा स्थानान्तरणलाई प्रतिबन्ध लगाएको विद्यमान अमेरिकी कानुनको उलङ्घन गर्छ।

युद्धको प्रारम्भमा रुसले क्लस्टर तथा भ्याक्युम बमहरूको प्रयोग गरिरहेको आरोपबारे ह्वाइट हाउसलाई प्रश्न गरिँदा तत्कालीन प्रेस सेक्रेटरीले त्यो आरोप साँचो भएको खण्डमा त्यो सम्भावित “युद्ध अपराध” हुने जनाएका थिए।

संयुक्त राष्ट्रसङ्घको मानव अधिकार कार्यालयका तर्फबाट बोल्दै मार्टा हुर्टाडोले भनिन्: “यस्ता अस्त्रहरूको प्रयोग अभिलम्ब रोकिनु पर्छ र यसलाई कुनै पनि स्थानमा प्रयोग गर्न हुँदैन।”

क्लस्टर बम

अमेरिकाका लागि रुसी राजदूतले बाइडनको उक्त निर्णयको भर्त्सना गरेका छन्।

“क्रूरता र निन्दाबीच वाशिङ्गटनले किएभमा घातक अस्त्रहरू हस्तान्तरण गर्न अपनाएको नीति  भर्त्सनायोग्य छ,” अनातोली एन्टोनोभलाई उद्धृत गर्दै तास समाचार संस्थाले जनाएको छ।

“अब अमेरिकाले गरेको गल्तीका कारण विस्फोट नभएका बमहरूले निर्दोष नागरिकहरूलाई असर पार्ने जोखिम धेरै वर्षसम्म रहन्छ।” रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यसअघि अमेरिका र उसका सहयोगी राष्ट्रहरूले युक्रेनमा विस्तारै प्रत्यक्ष संलग्न नभई ‘प्रोक्सी युद्ध’ लडिरहेको आरोप लगाएका थिए।

तर युक्रेनी राष्ट्रपति भोलिदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपतिलाई “समयमै,व्यापक र अत्यावश्यक”, ८० करोड अमेरिकी डलर बराबरको सैन्य राहत सामग्री उपलब्ध गराएकोमा धन्यवाद व्यक्त गरे।उनले ट्विटरमार्फत् यस निर्णयले “दुस्मनविरुद्ध युक्रेनको जीत र तानाशाहीविरुद्ध प्रजातन्त्रको जीत”का लागि सहयोग पुर्‍याउने बताए।

गत महिना सुरू भएको युक्रेनको प्रत्याक्रमण गतिविधि पूर्वी डोनेट्स्क र दक्षिण-पूर्वी जापोरिजा क्षेत्रमा बढिरहेको छ।गत साता युक्रेनका सैन्य कमाण्डर-इन-चीफ भ्यालेरी जालुज्नीले अस्त्रहरू पर्याप्त नहुँदा प्रत्याक्रमण अभियानमा बाधा परेको बताएका थिए। पश्चिमले प्रतिबद्धता जनाएको अस्त्रहरू हस्तान्तरणमा ढिलाइ भएकोमा पनि उनले निराशा व्यक्त गरेका थिए।

​​बाइडनको उक्त निर्णयमाथि सहयोगी राष्ट्रहरूले तत्काल कुनै प्रतिक्रिया जनाएका छैनन्।नेटोका महासचिव जेन्स स्टोल्टनवर्गले उक्त सैन्य गठबन्धनले क्लस्टर अस्त्रहरूलाई लिएर आफ्नो आधिकारिक धारणा नराखेको बताए।

सन् २०१० यता १०० बढी देशहरू सम्मिलित क्लस्टर गोलाबारीसम्बन्धी अभिसन्धिपछि ठूलो आकारका क्लस्टर बमहरूको प्रयोगमा प्रतिबन्ध लगाइएको छ। जसअन्तर्गत त्यसको प्रयोग, उत्पादन, स्थानान्तरण वा भण्डारण गर्न पाइँदैन। तर अमेरिका, युक्रेन र रुस यस सम्झौताको पक्षमा छैनन्।उक्त सम्झौतामा हस्ताक्षर गरेको जर्मनीले युक्रेनलाई त्यस्ता अस्त्रहरू प्रदान नगर्ने तर अमेरिकी निर्णयमा समर्थन गर्ने जनाएको छ।

मानिसलाई मार्ने वा सवारी साधनलाई ध्वस्त पार्ने उद्देश्यले क्लस्टर बमको निर्माण गरिएको हुन्छ। अन्य प्रकारका क्लस्टर बमहरू विमानस्थलका धावनमार्ग र जमिनमुनि बिछ्याइएका विस्फोटक धराप नष्ट गर्न वा रासायनिक वा जैविक हतियार फैलाउन पनि प्रयोग गरिन्छ।

तिनीहरू जमिनमा खस्ने बित्तिकै विस्फोट हुने गरी बनाइएको हुन्छ। यद्यपि तीमध्ये अधिकांश विस्फोट हुँदैनन् जसलाई “डड्स” भनिन्छ अर्थात् तिनीहरू प्रारम्भमा विस्फोट हुँदैनन्। यस्तो प्राय जमिन ओसिलो वा नरम छँदा हुन्छ।

केही समयपश्चात् तिनीहरू माथि कसैले कुल्चिँदा वा अन्य छेडखानी हुँदा विस्फोट हुने सम्भावना हुन्छ जसले मान्छे मार्न वा अङ्गभङ्ग पार्न सक्छ।क्लस्टर डिभाइसले ससाना बमहरू ठूलो क्षेत्रमा विस्फोट गराउने भएकाले आक्रमण हुँदाको समय र आक्रमण पछि पनि गैरसैनिक नागरिकहरू जोखिममा पर्छन्।

यस्ता अस्त्रहरूका कारण विशेषगरी बच्चाहरूलाई चोटपटक लाग्ने जोखिम हुन्छ किनकि त्यसका बमबारीहरू आवासीय क्षेत्र वा खेतबारी वरपर छोडिएका हुन्छन् जुन सानो खेलौना जस्तै देखिन्छन्। त्यस्ता वस्तुलाई प्रायः जिज्ञासाका कारण चलाइन्छ।

सैन्य परिप्रेक्ष्यमा यी अस्त्रहरू जमिन खनेर बनाइने बङ्करमा रहेका सैनिकहरू र सहजै पहुँच नभएका निशानामाथि आक्रमण गर्न प्रभावकारी ठानिन्छ।मानवाअधिकार समूहहरूले क्लस्टर अस्त्रहरूलाई “घृणित” र युद्ध अपराधको रूपमा व्याख्या गरेका छन्। BBC

शीर्ष समाचार

धेरै पढिएको