March 4, 2024, Monday
२०८० फाल्गुन २२, मंगलवार

उत्तरी सिरियाको अवस्था ‘त्रासदीपूर्ण’ – सुस्त गतिमा राहत

भूकम्पले व्यापक क्षति पुर्‍याएको सिरियामा समयमा राहत पुग्न नसक्दा अवस्था झन् गम्भीर हुँदै गएको विवरणहरू प्राप्त भएका छन्।गृहयुद्धको चपेटामा परेको राष्ट्रमा भूकम्पका कारण नयाँ भवनहरू समेत भत्किएका छन् भने अन्य भवनहरू बस्नका लागि असुरक्षित भएका छन्।

राहत सामग्री बोकेका संयुक्त राष्ट्रसङ्घका ६ वटा लरी टर्कीको सीमा हुँदै सिरिया प्रवेश गरेका छन्। सिरियामा पुगेको यो पहिलो अन्तर्राष्ट्रिय सहायता हो।

शुक्रवार बेलुका राहत सामग्री बोकेका संयुक्त राष्ट्रसङ्घका थप केही गाडीहरू सिरिया पुगेको भए पनि उद्धार कार्यमा जुटेकाहरू आपूर्तिको सुस्त गति प्रति निराश छन्।

सोमवार गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या शुक्रवार बेलुकासम्म झन्डै २३,००० पुगेको छ।उद्धारकर्मीहरूले जीवित मानिसहरूको खोजी गरिरहेका छन्। तर भूकम्प गएको १०० घण्टा नाघ्दा थप जीवित मानिस भेटिने सम्भावना क्षीण हुँदै गएको छ।

आवास, पानी, इन्धन र विद्युत् आपूर्तिको अभावका कारण टर्की र सिरियामा अझै कैयौँले ज्यान गुमाउन सक्ने विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ।टर्कीका राष्ट्रपति रेजेप तय्यीप एर्दोआन र सिरियाका राष्ट्रपति बसर अल असदले सोमवार आ आफ्नो देशमा भूकम्प प्रभावित क्षेत्रहरूको भ्रमण गरेका छन्।

एर्दोआनले भूकम्पप्रति सरकारको प्रारम्भिक प्रतिक्रिया आफूले सोचे जस्तो छिटो नभएको स्वीकार गरे।विद्रोहीहरूको नियन्त्रणमा रहेको उत्तरी सिरियामा खटिएका एक चिकित्सकले चिकित्सकीय सहायता बढाउन देशहरूलाई आग्रह गरेका छन्।

डाक्टर मोहम्मद हासुनका अनुसार उनी कार्यरत दुई अस्पतालमा भूकम्प गएको पहिलो दिन ३५० जनाभन्दा बढीले ज्यान गुमाएका थिए।

“त्यसपछि, मृतकको सङ्ख्या धेरै छिटो बढ्यो किनभने मानिसहरूले आफ्ना मृत प्रियजनहरूलाई सीधा आफ्नो घर वा सीधै अन्तिम संस्कार गर्ने ठाउँमा लैजान थाले,’’ उनले भने।

अत्यधिक चिसो मौसमका कारण हजारौँ भूकम्पपीडितको जीवन समेत जोखिममा छ। प्रकोपपछि उनीहरूले आवास, खानेपानी र खाद्यान्न पाएका छैनन्।

टर्कीका राष्ट्रपतिले उक्त भूकम्पलाई ‘शताब्दीकै प्रकोप’ भनेका छन्।प्रभावितहरूका लागि एक प्रमुख अन्तर्राष्ट्रिय राहत प्रयासले गति लिएको छ।

बिहीवार विश्व ब्याङ्कले टर्कीलाई आधारभूत पूर्वाधारको पुनर्निर्माण र भूकम्पबाट प्रभावितहरूलाई सहयोग गर्न तत्काल वित्तीय सहायतासहित १.७८ अर्ब डलर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

तर भूकम्पले क्षति गरेका ठाउँहरूमा खटेका १,००,००० भन्दा बढी उद्धारकर्मीहरूको प्रयासमा भने सवारीसाधनको अभाव र सडकहरू भत्किनु लगायत समस्याका कारण अवरोध निम्तिरहेको छ।

शीर्ष समाचार

धेरै पढिएको