
किभ, युक्रेनको राजधानी किभमा रुसले गरेको मिसाइल आक्रमणको विश्वका धेरै देशले निन्दा गरेका छन् । रुसले विश्वविद्यालय र बालबालिकाको खेल मैदान लगायतका नागरिकलाई निशाना बनाएको अमेरिकाले दाबी गरेको छ ।
अन्तरास्ट्रिय सञ्चारमाध्यमका अनुसार सो आक्रमणमा परि १४ युक्रेनीको मृत्यु भएको छ । अमेरिकाले युक्रेनलाई सहयोग जारी राख्ने आश्वासन दिएको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आक्रमणबाट आफू अत्यन्तै स्तब्ध भएको बताएका छन् ।
यसैगरी रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले क्रिमियालाई रुससँग जोड्ने एकमात्र पुलमा शनिबार भएको विस्फोटको प्रतिक्रियामा आक्रमण भएको बताएका छन् ।
रुसले सोमबार ८३ वटा क्षेप्यास्त्र प्रहार गरेको र जसमध्ये ४३ वटा हवाई प्रतिरक्षा प्रणालीले निष्क्रिय पारेको युक्रेनले दाबी गरेको छ ।
युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले एक भिडियो सार्वजनिक गर्दै भनेका छन्, ‘युक्रेनलाई डराउन सकिँदैन । यी सबै कुराले उसलाई थप एकताबद्ध बनाउनेछ । एजेन्सी






