
डोनेट्स्क, पूर्वी युक्रेनी सहर डोनेट्स्कमा भएको शृङ्खलाबद्ध विस्फोटमा १३ जनाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन् । सो क्षेत्रहरू रुसी समर्थित विद्रोहीको नियन्त्रणमा छन्
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार रुस समर्थित मेयरले आक्रमणको लागि युक्रेनलाई दोष दिएका छन् । एलेक्सी कुलेमजिनले युक्रेनको गोलाबारीका कारण धेरै जनाको मृत्यु भएको बताए । तर, अहिलेसम्म युक्रेनबाट यसबारे कुनै प्रतिक्रिया आएको छैन ।
डोनेट्स्कमा सन् २०१४ देखि रुस समर्थित विद्रोहीले कब्जा जमाएको छ । स्थानीय अधिकारीहरूका अनुसार डोनेट्स्कको कुइबिशेभस्की जिल्लामा १५० एमएम गोलाहरु प्रहार गरिएको थियो।
यो हमला सहरको पश्चिमी क्षेत्रको एउटा गाउँबाट गरिएको हो । स्थानीय नेता डेनिस पुशिलिनले युक्रेनले जानाजानी बस स्टप, पसल र बैंकमा सर्वसाधारणलाई निशाना बनाएको आरोप लगाएका छन् ।
फेब्रुअरीमा सुरु भएको लडाईमा रुसी सेनाले डोनेट्स्कको दक्षिण क्षेत्रसम्म कब्जा गरेको थियो, तर सहरको बाहिरी भागबाट युक्रेनी सेनाहरूलाई पछाडि धकेल्न उसले निकै संघर्ष परेको थियो। युक्रेनी सेनाले जवाफी कारबाहीमा रुसलाई दक्षिण र उत्तरपूर्वमा कडा टक्कर दियो ।
लुहान्स्क क्षेत्रका प्रमुख सेर्ही हाइडाईले युक्रेनी ट्याङ्कहरू पोन्टुन पुल पार गरेको भिडियो सार्वजनिक गरेका छन् । उनका अनुसार युक्रेनले अब ओस्किल नदीको बायाँ किनारा आफ्नो नियन्त्रणमा लिएको छ। एजेन्सी







