
काबुल, पाकिस्तानमा बाढी पहिरोका कारण पछिल्लो एक दिनमा थप ३६ जनाको मृत्यु भएको छ । पछिल्लो समय पाकिस्तानमा वर्षासँगै आएको बाढी पहिरोबाट दैनिक धनजनको क्षति भएको हो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणले थप मृत्यु भएकामध्ये १५ जना बालबालिका र ६ जना महिला रहेको जनाएको छ । बाढी पहिरोबाट सबैभन्दा बढी दक्षिणी प्रान्त सिन्ध प्रभावित भएको छ ।
पछिल्लो एक दिनमा मृत्यु भएका ३६ मध्ये ३५ जना सिन्ध प्रान्तका रहेका छन् । अर्का एक जनाको भने पाख्तुन्ख्वा प्रान्तमा मृत्यु भएको अधिकारीहरूले जनाएका छन् ।
प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार पाकिस्तानमा पछिल्लो समयमा २६ हजार ६ सय ५२ घर क्षतिग्रस्त भएका छन् ।एजेन्सी







