
काठमाडौं, ब्रिटेनकी महारानी एलिजाबेथ द्वितीयाको निधन भएको छ । बेलायतको बकिंघम राजप्रासादले महारानीको निधन भएको घोषणा गरेका हुन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ९६ वर्षकी उनको निधन स्कटल्याण्ड स्थित बाल्मोरल काशलमा भएको हो । जहाँ उनले ग्रीष्मकालीन समय बिताएकी थिइन् ।
उनका चारजना सन्तान, उनको उत्तराधिकारी प्रिन्स अफ वेल्स समेत अन्तिम समयमा उनको साथमा थिए । उनी बेलायतमा सबैभन्दा लामो समयसम्म गद्दीमा रहेकी थिइन् । उनी ७० वर्षसम्म गद्दीनसीन थिइन् ।
बिहीबार उनको स्वास्थ्यका बारेमा गम्भीर चिन्ताहरू व्यक्त हुँदै गर्दा उनको परिवारका सदस्यहरू उनी रहेको स्कटल्याण्डस्थित निवासमा भेला भएका थिए ।
रानीको निधनसँगै युवराज चार्ल्स बेलायत तथा १४ कमनवेल्थ राज्यका राजा बनेका छन् । रानीलाई राजकीय सम्मानसाथ अन्तिम श्रद्धाञ्जली दिइने बेलायती संचारमाध्यमले जनाएका छन् । त्यस्तै राष्ट्रिय शोकको अवधि पनि सुरु भएको छ । करिब १० दिनमा उनको अन्तिम संस्कार गरिनेछ ।
यसैगरी उनको शवलाई बकिङ्घम प्यालेसमा सारिने बताइएको छ । उनको सम्मानमा फुटबल, क्रिकेटजस्ता खेल पनि रोकिन सक्ने बताइएको छ ।
एलिजाबेथ एलेक्जेण्ड्रा मेरी विन्डसर सन् १९२६ एप्रिल २१ मा लन्डनको बर्कली स्क्वायर नजिकैको घरमा जन्मिएकी थिइन् ।







