
काठमाडौं, गत साता अमेरिकी प्रतिनिधि सभाका सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणको प्रतिक्रियास्वरूप चीनले सैन्य अभ्यास सुरु गरेको छ । चीनको यो सैन्य अभ्यास ताइवान वरपर जारी छ । ताइवानका विदेशमन्त्रीले चीनको यो सैन्य अभ्यास आक्रमणको तयारी भएको बताएका छन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार मङ्गलबार
ताइवानका विदेशमन्त्री जोसेफ वुले चीनले ताइवान जलडमरूको यथास्थिति परिवर्तन गर्ने प्रयास गरिरहेको बताए ।
जोसेफ वुले भने, ‘ताइवान स्ट्रेटमा मध्य रेखाको सन्दर्भमा दशकौंदेखि यथास्थिति रहेको छ । मध्य रेखा चीन र ताइवानबीच यथास्थितिको प्रतीक भएको छ । तर पछिल्ला केही दिनमा चिनियाँ सैन्य अभ्यासका कारण यसमा क्षति पुगेको छ । यसले ताइवानको क्षेत्रीय शान्ति, स्थायित्व र सुरक्षामा प्रतिकूल असर पार्नेछ ।’
बुधवारदेखि आइतबारको बीचमा, चीनले मध्य रेखा पार गरी १२० विमान पठाएको छ । ताइवानले पनि जवाफमा विमान र जहाजहरू तैनाथ गरेको छ । ताइवानले चिनियाँ आक्रामकताको निगरानी गर्न यी तैनाथहरू आवश्यक भएको बताएको छ ।एजेन्सी







