
काठमाडौं, भारतको पूर्वीराज्य बिहारमा चट्याङ र वर्षाजन्य घटनामा परी २६ जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार मङ्गलबार देशका आठ जिल्लामा मेघगर्जन र चट्याङसहितको भारी वर्षाले जनजीवन प्रभावित भएको थियो । चट्याङ लागेर ज्यान गुमाउनेमा अधिकांश खेतमा काम गरिरहेका किसान रहेको बताइएको छ ।
यसैगरी कैमुरमा सबैभन्दा बढी नौ जनाको मृत्यु भएको छ भने भोजपुर, पटना, जेहानाबाद, रोहतश, औरङगाबाद, अरवाल र सिवान जिल्लामा १७ जनाको मृत्यु भएको समाचार रेडियोले प्रसारण गरेको छ। आगामी ४८ घण्टामा भारतका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।एजेन्सी






