
काबुलस्थित एउटा सिख मन्दिरमा आक्रमण हुँदा एक सर्वसाधारण नागरिक र एक तालिबान सुरक्षाकर्मीको मृत्यु भएको छ। उक्त घटनामा आक्रमणकारीहरूको पनि मृत्यु भएको प्रहरीले जनाएको छ।
आक्रमणकारीहरू को हुन् त्यो खुल्न बाँकी नै छ।शनिवार बिहानै आक्रमण हुँदा करत-ए-परवान गुरुद्वारामा ३० जनाजति मानिस भएको उक्त धार्मिक स्थलका एक अधिकारीले बताएका थिए।काबुल प्रहरीका प्रवक्ता खालिद जदरानका अनुसार आक्रमण गर्न आएका सबै जना कारबाहीका क्रममा मारिएका छन्।
यसअघि तालिबान नेतृत्वको सरकारको गृह मन्त्रालयका प्रवक्ता अब्दुल नफी टकूरले बीबीसीलाई गुरुद्वाराबाहिर केही विस्फोटन भएका र त्यसपछि केही सशस्त्र व्यक्ति गुरुद्वारा परिसरभित्र छिरेको बताएका थिए।आक्रमणका बेला गुरुद्वाराभित्र भएका मानिसको अवस्थाबारे सर्वत्र चिन्ता व्यक्त भएको थियो।
“कति जना जीवित छन् वा कति जनाको मृत्यु भयो भन्ने हामीलाई थाहा छैन,” सिंहले समाचारसंस्था रोएटर्सलाई भनेका थिए।उनका अनुसार तालिबानले कसैलाई भित्र जान दिएको थिएन।स्थानीय टेलिभिजन टोलोले विस्फोटन भएको क्षेत्रबाट धुवाँको बाक्लो मुस्लो उडेको दृश्य प्रसारण गरेको थियो।
अहिले घटना भएको गुरुद्वारा काबुलमा बाँकी भएको अन्तिम सिख मन्दिर हो।सिख समुदायका नेताहरूका अनुसार अहिले अफगानिस्तानमा सिख धर्मावालम्बीको सङ्ख्या १४० जति छ।
कसरी भयो आक्रमण?
अफगान गृह मन्त्रालयका प्रवक्ता टकूरका अनुसार स्थानीय समयानुसार बिहान साढे ६ बजेतिर आक्रमण भएको थियो।
करत-ए-परवान गुरुद्वारा परिसरमा प्रवेश गर्नुअघि आक्रमणकारीहरूले त्यहाँ परिचालित सुरक्षाकर्मीमाथि ग्रिनेड प्रहार गरेको टकूरले बताए। ग्रिनेड प्रहार भएपछि त्यहाँ आगो लागेको थियो भने दुई व्यक्ति घाइते भएका थिए।
आक्रमणकारीहरूलाई “धर्म र देशका शत्रु” को सङ्ज्ञा दिँदै टकूरले उनीहरूले भिडभाड भएको ठाउँमा आक्रमण गर्न खोजेको बताए। तर आफ्नो लक्ष्यसम्म पुग्न नपाउँदै उनीहरूले कारमा विस्फोट गराएको जानकारी उनले दिए।
टकूरका अनुसार गुरुद्वारामा आक्रमणकारीहरूलाई घेरिएको थियो र चाँडै परिस्थिति नियन्त्रणमा ल्याइएको थियो।
केही प्रत्यदर्शीहरूका अनुसार त्यहाँ एकपछि अर्को गर्दै कैयौँ पटक विस्फोटन भएको थियो र धुवाँको मुस्लो उडेर आकाशसम्म पुगेको थियो।
त्यसपछि सरकारी सुरक्षाकर्मीहरूले चेतावनी दिँदै हवाई फायर गरेका थिए। अहिले पूरै क्षेत्र सुरक्षा निकायको नियन्त्रणमा छ। bbc







