तीन चिनियाँ अन्तरिक्षयात्रीले देशको नयाँ अन्तरिक्ष स्टेसनमा काम गर्न छ महिने अभियान सुरु गरेका छन्।यो आउँदा दशकमा अन्तरिक्षमा शक्तिशाली बन्ने चीनको योजना अन्तर्गतको पछिल्लो कदम हो।

चिनियाँ अन्तरिक्ष स्टेसन के हो?
गत वर्ष चीनले तियानगङ् वा ‘स्वर्गको दरबार’ नाम दिइएको अन्तरिक्ष स्टेसनको पहिलो खण्ड अन्तरिक्षमा पठाएको थियो।यो वर्षको अन्त्यसम्म त्यसमा विज्ञान प्रयोगशालासहित अन्य खण्डहरू जोड्ने चीनको योजना छ।

अर्को वर्ष चीनले सुन्टीआन नाम गरेको अन्तरिक्ष टेलिस्कोप प्रक्षेपण गर्नेछ। त्यो अन्तरिक्ष स्टेसन नजिकै रहेर उडीरहने छ र मर्मत तथा इन्धनका लागि उक्त स्टेशनसँग जोडिनेछ।
तियानगङ्मा आफ्नै ऊर्जाको स्रोत, सञ्चालन प्रणाली, यात्रीलाई जीवित राख्ने प्रणाली र आवासीय खण्डहरू रहेका छन्।रुस र अमेरिकापछि चीन अन्तरिक्षमा स्टेसन र अन्तरिक्षयात्री राख्ने तेस्रो देश हो।
सन् २०३१ पछि निष्क्रिय बनाइने अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन, आईएसएसलाई तियानगङ्ले प्रतिस्थापन गर्ने चीनको अपेक्षा छ।आईएसएसमा चिनियाँ अन्तरिक्ष यात्री जान पाउँदैनन् किनभने अमेरिकी कानुनले नासालाई चीनसँग तथ्याङ्क बाँड्न प्रतिबन्ध लगाएको छ।
चन्द्रमा र मङ्गल ग्रहमा चीनको योजना अबको केही वर्षमा चीन पृथ्वी नजिकैको क्षुद्र ग्रहबाट नमुना सङ्कलन गर्न चाहन्छ।अनि सन् २०३० मा चन्द्रमामा आफ्नो अन्तरिक्षयात्री ओह्राल्न चाहन्छ। चीनले मङ्गल र वृहस्पति ग्रहबाट नमुना सङ्कलन गर्न यान पनि पठाउने छ।
चीनको अन्तरिक्ष इतिहास
चीनले सन् १९७० मा अन्तरिक्षमा पहिलो भूउपग्रह स्थापना गरेको थियो।त्यति बेला अमेरिका, सोभियत सङ्घ, फ्रान्स र जापानको मात्रै भूउपग्रह थियो।
गत १० वर्षमा भने चीनले २०० भन्दा बढी रकेट प्रक्षेपण गरेको छ।चीनले चन्द्रमामा मानवरहित यान उतारिसकेको छ र त्यहाँ अमेरिकाको भन्दा ठूलो आकारको झण्डा समेत गाडेको छ।
अहिलेका तीन जनासहित चीनले १४ जना यात्रीलाई अन्तरिक्षमा पठाएको छ। अमेरिकाले अहिलेसम्म ३४० र सोभियत सङ्घ/रुसले १३० जनालाई अन्तरिक्षमा पठाएको छ।
तर चीनका सबै प्रक्षेपण सफल भएका छैनन्। सन् २०२१ मा चिनियाँ रकेटको अंश अनियन्त्रित भएर आन्ध्र महासागरमा खसेको थियो भने सन् २०२० मा दुई प्रक्षेपण असफल भएकाे थियाे । bbc







