
पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकाले युक्रेनलाई आर्थिक सहयोग गर्नुको साटो देशकै विद्यालयहरूका सुरक्षालाई प्राथमिकता दिनुपर्ने बताएका छन्।टेक्ससमा १९ विद्यार्थीको हत्या भएको केही दिनपछि उनले यस्तो धारणा राखेका हुन्।
“[यदि अमेरिकाले युक्रेनलाई अर्बौँ रकम दिन सक्छ भने] हामीले हाम्रो घरमा बालबालिकाहरूलाई सुरक्षित राख्नको लागि जे पनि गर्न सक्नुपर्छ,” उनले हतियारको बिक्री तथा प्रयोगका नियम परिवर्तन नहुनुपर्ने पक्षमा रहेकाहरूको एक सम्मेलनमा भने।
ह्युस्टनमा अमेरिकाको सबैभन्दा ठूलो बन्दुकधारी समूह न्यास्नल राइफल एसोसिएसन एनआरएको बैठक भइरहेको छ।युभाल्डीमा एक किशोरद्वारा सामूहिक गोली प्रहार गरेको तीन दिनपछि उक्त बैठक सुरु भएको हो।
ट्रम्पले के भने?
“हामीले इराक र अफगानिस्तानमा करोडौँ खर्च गर्यौँ र त्यसबाट केही उपलब्धि भएन,” ट्रम्पले शुक्रवार दिएको मन्तव्यमा धेरैले चर्को तालीसहित समर्थन जनाएका थिए।”हामीले संसारको बाँकी राष्ट्र निर्माण गर्नुअघि हाम्रो आफ्नै देशमा हाम्रा आफ्नै बच्चाहरूको लागि सुरक्षित विद्यालय निर्माण गर्नुपर्छ।”
यस महिनाको सुरुवातमा अमेरिकी कंग्रेसमा युक्रेनलाई सैन्य सहायतामा लगभग ४० अर्ब डलर पठाउने विषय पारित भएको थियो।अमेरिकी सांसदहरूले फेब्रुअरीमा रुसले आक्रमण गरेदेखि हालसम्म युक्रेनमा करिब ५४ अर्ब डलर बराबरको सहयोग पठाएका छन्।
ट्रम्पले बन्दुक नियन्त्रणमा कडाइ गर्नु पर्ने मागको विरोध गर्दै “दुष्ट”हरूविरुद्ध आफ्नो रक्षा गर्न सभ्य अमेरिकीहरूलाई बन्दुक बोक्ने अनुमति दिनुपर्ने बताए।ट्रम्पले आफ्नो मन्तव्यमा अमेरिकीहरूलाई “मानसिक स्वास्थ्यप्रति दृष्टिकोणमा व्यापक परिवर्तन गर्न” पनि आह्वान गरे।
उनले आफ्नो कार्यकालमा पनि यस्तो आह्वान गरेका थिए।यद्यपि आलोचकहरूले भने उनलाई मानसिक स्वास्थ्य सेवा समाविष्ट चिकित्सा कार्यक्रमहरूको खर्च कटौती गर्ने प्रयास गरेको आरोप लगाएका थिए।
ट्रम्पले बोल्नुअघि टेक्ससका सेनेटर टेड क्रुजले धार्मिक कार्यमा उपस्थिति कम हुनु, सामाजिक सञ्जाल र भिडियो गेमहरू सामूहिक गोलीबारीको मुख्य कारणहरू भएको बताएका थिए।कार्यक्रमस्थल बाहिर एनआरएको विरोध गर्न सयौँ प्रदर्शनकारी जम्मा भएका थिए ।
उनीहरूले “एनआरएले बालबालिका मार्यो”, “बच्चालाई बन्दुक होइन, सुरक्षा देऊ”जस्ता नारा अङ्कित प्लेकार्ड र गोलीकाण्डमा परेका पीडितहरूको तस्बिर बोकेका थिए।







