
काठमाडौं, अफ्रिकी मुलुक मालीका राष्ट्रपति र प्रधानमन्त्रीलाई सेनाले नियन्त्रणमा लिएको छ । राष्ट्रपति इब्रहिम बुबाकार केयटा र प्रधानमन्त्री बूबू सीशेलाई सैनिकले गिरफ्तार गरेको सरकारी अधिकारीहरुले पुष्टि गरेका छन् ।
उनीहरूलाई मालीको राजधानी बमाकोबाट करिब १५ किलोमिटर टाढा रहेको कटीस्थित एउटा मुख्य सैन्य शिविरमा राखिएको जनाइएको छ । सो ठाउँमा गोली चलेको आवाज पनि सुनिएको स्थानीयले बताएका छन् ।
कनिष्ठ सैनिक अधिकृतले त्यहाँका उच्च कमान्डरलाई कब्जामा लिएर छाउनी नियन्त्रणमा लिएपछि विद्रोही सैनिकहरु राजधानीमा व्यापक मात्रामा देखिएका छन् । सैनिकहरुले राष्ट्रपतिका छोरा, माथिल्लो संसदका सभामुख, विदेशमन्त्री, अर्थमन्त्रीलागयतलाई पनि नियन्त्रणमा लिएको जनाइएको छ ।
सैनिक छाउनीका उपप्रमुख कर्णेल मलिक डिव र अर्का कमान्डर जनरल सादिओ कमाराको नेतृत्वमा सैन्य कु भइरहेको बताइएको छ । तर सैन्य विद्रोहमा के कति सहभागी छन् र किन उनीहरुले विद्रोह गरेका हुन भन्ने बारेमा स्पष्ट नभएको समाचारमा लेखिएको छ । एजेन्सी





